गोरखाको हराएको चिनारी : दूर्भाग्य कि द्वेष?


Writes: सुदर्शन लिम्बु

“आर यू फ्रम नेपाल?”
यो प्रश्नले शायदै भारतीय गोरखाहरूलाई पिरोलेका छन् जत्तिको मलाई पिरोलेका थिए जब रोजगारको शिलशिलामा विदेशको नौलो ठाँउमा शुरूका दिनहरूमा जागिर खाई रहेको थिए म । आज सम्म नै यो प्रश्नले मेरो मन मथिंगलमा भूँइचालो ल्याउँने गर्दछ ।
दिमागको रीसको पाराले त पराकाष्ठ नाघिसकेको हुन्थ्यो तर त्यो अज्ञानी सोध्ने व्यक्तिको पनि के गल्ती हो र भनेर आफूलाई थमथमाउँन बाहेक कुनै विकल्प हुन्थेन।
विश्वको सबै महादेशहरूका थरि थरिका व्यक्तिहरूसित कामको बखत वार्तालाप औ बातचितको शिलशिलामा यस्ता आफू होचिने समस्याहरूको सामना गर्नु पर्ने स्थिति दिनहूँ चल्दथ्यो र अझै पनि जारी नै छ तर अब त बानी परेर होला रिस चै उठ्दैन तर मन अमिलो चै पक्कै हुने गर्दछ ।

” नो,आई एम फ्रम इण्डिया ” मेरो स्वभाविक र तथ्य उत्तरमा उनीहरू दंग पर्थे र फेरि प्रश्नहरू तेर्साउन शुरू गर्दथे ।
“इण्डिया व्हिच प्लेस?”
“दार्जिलिंग”
वाऊ ! दार्जिलिंग ? व्यूटिफूल प्लेस…दार्जिलिंग टी , ट्वाई ट्रेन, कोल्ड व्हेदर राईट ?”

म खुशीले फुरूंग्ग हुन्थे र मन्द मुस्कानले स्वीकृति जनाउँथे । विश्व मानचित्रमा एउटा कोदोंको दाना जत्रो दार्जिलिंग यी कुराहरूले प्रख्यात भएको सुन्दा गर्व महसुश गर्थे र नाक फुलिन्थ्यो ।
तर सबै मानिस एकै नासे त पक्कै हुँदैनन् । कोहि त “किन झुठो बोल्छस् ?” पनि भन्थे । झोक चलेर पासपोर्ट मुखैमा पो फ्याकदिम् जस्तो पनि लाग्ने । गर्वको साथ “आई एम एन इण्डियन” भन्दा शंकाको दृष्टिले हेर्दा मनमा अनेक प्रश्नहरू उब्जन्थे । आफैलाई सोद्धथे ” के विविधतामा एकताको देश भारतमा विभिन्न जात -जातिहरू मध्ये एउटा मंगोलियन अनुहार भएको भारतीय गोरखा जाति हुन सक्दैनन् र? के चिम्से आँखा भएको मानिस नेपाल, चिन, कोरियाबाट मात्र हुन्छन् ?
विडम्वना, “म भारतीय हूँ ” भनेर गर्व गर्ने अधिकार पनि खोसेको तितो महसुश हुनु त स्वभाविकै हो । तर मुटुमा नै कसैले सियोले च्वाँस्स घोचेको भान हुन्थ्यो र हुन्छ ।

विश्वभरी प्रख्यात दार्जिलिंग चिया, विश्व धरोहर दार्जिलिंगको ट्वाई ट्रेन र यहाँको सुखद मौसमसित चिरपरिचित विश्व समुदाय भारतको पश्चिम वंगाल राज्य अन्तर्गत एउटा सानो पहाड़ र तराई सम्मिलित जिल्लामा भारतीय गोरखा जातिको बसोबास छ भन्ने कुरोमा अनभिज्ञ रहेको देख्दा ती प्रश्न सोध्नेहरूलाई भन्दा आफूलाई धेरै प्रश्न तेर्साउन मन लाग्दथ्यो । फुर्सदको समयमा निम्न प्रश्नहरू मेरो मनमा उब्जन्थे ;

१) भारतभरि छरिएर बसेका गोरखाहरूको भारतीय पहिचानमा सधैं किन प्रश्न चिन्ह खड़ा हुन्छ?

२) भारतीय संविधानको प्रावधान अनुरूप जातिय सांस्कृतिक औ भाषिक आधारमा गठित राज्यहरू मध्ये गोरखाहरूको अलग “गोरखा” राज्य किन गठन भएको छैन?

३) के राष्ट्रको सुरक्षा हेतु गोरखाको योगदान र बलिदानको उल्लेख्य मुल्यांकन अझै भएको छैन?

४) के राष्ट्र निर्माणमा गोरखाहरूको योगदान र बलिदानको राष्ट्रीय अभिलेखको अझैसम्म अंश औ मापदण्ड पुरा भएको छैन ।

५) के गोरखाहरूले राष्ट्रको हितमा भातृत्व,भाईचारा औ राष्ट्रीय अखंडता कायम गरेका छैनन्?

६) के गोरखा समुदायबाट कुनै एक दक्ष व्यक्ति छैन जसले राष्ट्रीय स्तरमा गोरखाको प्रतिनिधित्व गर्न सक्दछ औ कुनै राष्ट्रीय पार्टीको प्रतिनिधित्व गर्न सक्दछ?

५) के गोरखा समुदायमा बौधिक्ताको कमी अझै खट्किरहेको छ?

६) के गोरखा समुदायले व्यवस्थापन र प्रशासनमा अझै दक्षता हासिल गरेका छैनन्?

७) के गोरखा समुदायमा अझैसम्म एक कुशल, दक्ष र ईमान्दार नेताको जन्म भएको छैन औ भएर पनि पाखण्डतालाई शिरपेच बनाएका हुन्?

८) के गोरखा समुदायमा साक्षरता दरको विकाश भएको छैन ?

९) के हाम्रो शिक्षण प्रणाली व्यवहारिक छैन ?

१०) के हामीमा राजनीतिक ज्ञानको कमी भएको हो औ आधारभूत अधिकारको समेत ज्ञान नभएको हो?

११) सदैव “बीर गोरखाको” गुथी मात्र पहिरिएर हिँड़ने कि बुद्धिमताको पनि?

१२) के हामी सांच्चै भोलीवादी प्रथाले ग्रसित छौं?

१३) के हाम्रा युवा पीढ़ी निष्क्रिय र शिथिल छन्? कि तिनीहरूलाई प्रेरणा र हौसलाको स्रोतको कमी भएको हो?

१४) युवा पलायनको कारणहरू के के हुन् त?

१५) के ग्रामीण क्षेत्र औ चिया कमानको जीवन स्तर सधैं सोचनिय अवस्थामा नै रहने हुन् त? दीर्घकालीन उपाय र समाधानहरू छैनन् त?

१६) चिया कमानका श्रमिक औ तिनीहरूका परिवार कहिले सम्म गरिबी र कुपोषणको शिकार हुने हो?

१७) कहिले सम्म हाम्रा गरिब श्रमिक र दिदी बहिनीहरू कमानको घण्टा नबज्दै रूझीभिझी चियाको बुटा समाउँन पुग्न पर्ने त?

आदि ईत्यादि…

लहरा तान्दा पहरा गर्जन्छ भने जस्तै प्रश्नहरू माथि प्रश्न थपिएला तर अन्त भने पक्कै हुने छैनन् प्रश्नहरूको लहर।

१९०७ देखि छुट्टै राज्य गोरखास्थान औ गोरखाल्याण्डको मांग गर्दै आएका गोरखाहरूका अवस्था शताब्दी बित्दा सम्म “ओरोको सिन्का पर” सम्म नभएको बिडाम्वनात्मक कुरो देखेर संसारले “कठैबरी !” मात्र भनीरहेका छन् ।
भारतीय राजनितीको कयौं उतार चड़ाऊ देखे होलान् तर गोरखाहरूको अवस्थामा न उतार आयो न चड़ाऊ नै मेरो व्यक्तिगत अनुभवमा । बदलन्दो समयको अनुसरण गर्दै गोरखाहरूको जीवन शैलीमा परिवर्तन आयो होला तर अरूको हैकमवादी हुकुममा टाऊको निहुराएर “हजुर हुन्छ” भन्ने मानसिकता भने जहींको तहीं छ । आफ्नो जातियता, विविधता र संस्कृति हामी आफैसित मात्र सिमित छन् । कसैले सरहना र गुणगान गरिएको राष्ट्रको पाठशाला र बिध्यालयको पाठ्यक्रममा पढ़न त परै जाओस कसैले सम्मिलित गर्ने जमर्को सम्म गरिएको पाईएको छैन । तर विविधतामा एकताको देश औ विश्वकै विशाल लोकतान्त्रिक गणतन्त्र देश भारतमा अरू जातिको भाषा-भेषभूषा, संस्कृति ,सांस्कृतिक खाना र जीवनशैलीको बखान पाठ्यपुस्तकमा प्रशस्तै पढ़न पाईन्छ ।

आफ्नो जातियता र संस्कृतिको गर्व गर्दै शिर ठाड़ो गरेर हिड़ने त्यो उज्यालो बिहानीको पर्खाईमा गोरखाहरूको कति पीढ़ी बितेर गए तर कसैलाई चिलाई न कनाई छ । “ए भैहाल्छ जीन्दगी चलीरहेको छ ” भन्ने मानसिकतामा कुंजिएका हामी पिंजड़ा भित्रको सुंगा सरह बिवस जीन्दगी जिउँदैछौं भन्ने समेत आभास भएको छैन । चेतनाको त कुरै नगरौं ।

तत्कालिन भारतीय शासक ब्रिटिश र नेपाल माझको सन् १८१६ को सुगौली सन्धि हुन अगावै भारतमा अधिकतम संख्यामा गोरखाहरूको बसोबास थियो अर्थात गोरखाहरू माटोसंगैको भारतीय रैथाने हुन् भन्ने एतिहासिक तस्तावेजहरूको प्रस्तुतीकरण पनि नभएको होइन तर भारतीय सरकार औ भारतीय नागरिकहरूको बुझ पचाईको पाखण्डता जगजाहेर छन् औ कानमा तेल हालेर बसेका छन् जो तितो सत्य हो।

हालैमा अधिकारिक दार्जीलिंग भ्रमणमा आएका रेलवे मंन्त्री श्री सुरेश प्रभुको बयान कत्तिको विवादास्पद रूपमा लिए हाम्रा मानिसले र पत्रपत्रिका र पत्रकारहरूको कति ध्यान आकर्षण गर्यो थाहा लागेन तर अन्य ठाँऊ र जाति प्रति यस्तो पाखण्डपूर्ण,मिथ्यात्मक औ ढोंगपूर्ण बयान दिएको भए कति हंगामा मच्चिने थियो होला । कोलकताबाट प्रकाशित प्रख्यात दैनिकी “टेलीग्राफले” ट्यूटर मार्फत दार्जीलिंगको एक चिया कमानको तस्बीर साँझ्दै #मकैबारी#नेपाल लेखेर गोरखाहरूको घाऊमा नुन छर्किने दूर्भावपूर्ण भनौं या दूेषपूर्ण कार्य गरे तर हाम्रा मानिसले शिष्टाचारपूर्ण प्रतिरोध पनि गर्न भ्याए कि भ्याएनन् ।

छिमेकी देश नेपालसंग भारतीय गोरखाहरूको जातियता, संस्कृति ,भाषा औ जीवन शैलीको समानतालाई आधार बनाएर भारतीय गोरखाहरू नेपालबाट पलायन भएका अप्रवासि भारतीय हुन् भन्न कुन मुखले दिएको होला जब कि देशको मूल नागरिकको पहिचान औ हक अधिकारको रूपमा सरकारले नै भोटर आई कार्ड, राशनकार्ड ,आधार कार्ड, प्यान कार्ड औ पासपोर्ट जस्ता आधारभूत आवश्यक कागज पत्र औ प्रमाण पत्र हामीलाई थम्याई दिएको छ ।
के यी कागज पत्र र प्रमाण पत्रहरूले प्रमाणित गर्दैनन् कि हामी भारतीय मूल नागरिक हौं भनेर? कि यी प्रमाण पत्रहरू सरकारको राजनीतिक स्वर्थपूर्तिको निम्ति प्रयोगमा ल्याईने भोट ब्यांकका आधारहरू मात्र हुन्? जुन भोट हाल्ने अधिकार हामीलाई प्राप्त छन् त्यसैले पनि हामीलाई देशको नागरिक हुनमाु पनि अधिकार प्राप्त गराउँदछ । तर फेरि स्वभाविक प्रश्न -के भोट हालेर मात्र हाम्रो पहिचान हुँदछ?

कदापि हुँदैनन् । हुने भए त किन हाम्रा गोरखा दाज्यु दिदी भाईहरू जातिय भेदभावको शिकार बन्दछन्? किन चिम्से आँखा भएका चाईनिस भनेर खिसीटिउरीको पात्र बन्दछन्? किन हाम्रा चेली बेटी लाञ्छनाको शिकार बन्दछन् ? के यी विभिन्न शहरमा आफ्नो कर्मथलो बनाएका गोरखालीहरूकोमा आफ्नो देशको नागरिकताको प्रमाण पत्रहरू छैनन् होला?
जब सम्म हामी बंगाल देखि अलग एक पृथक संस्कृति भाषा,भेषभूषा, खानपान र जीवनशैली भएका गोरखा जातिको संवैधानिक प्रावधान अनुरूप छुट्टै राज्य गोरखाल्याण्ड गठन हुँदैन तबसम्म यी प्रमाण पत्रहरूको पनि कुनै औचित्य रहने छैन भन्दा अत्युक्ति नहोला ।

अर्को बिडम्वनाको कुरो हाम्रा केहि पहाड़े “थिकट्याँक” औ महाबुद्धिमानी नेताहरूले पहिचान संकट (Identity Crisis) र बिकाश (Developement) मा फरक छैनन् भन्छन् । पहाड़को बिकाश भए जातिय पहिचान भैहाल्छ भन्ने मुर्ख कुरो गर्छन् । त्यसैले पनि होला हाम्रा बुद्धिमानी नेताहरूको बुद्धिमानी कुराले बिश्वस्त जनता बंगाल सरकारले दिएको जातिय बिकाश बोर्ड थाप्न ब्यस्त छन्। राज्य सरकारलाई नै बिश्वास दिलाए की हाम्रा मानिसलाई पहिचान हैन बिकाश चाहिएका छन् भनेर । “के खोज्छस काना आँखा” भने जस्तो ममताले सबलाई विकाश बोर्ड भटाभट् दिन थाली ।
बंगाल भित्र मानिस कति जातिका र कति थर भएका होलान् ? ममताले किन सबैलाई बिकाश बोर्ड दिदैनन् त र किन पहाड़े मानिसलाई मात्र जातिय विभाजन गरेर बिकाश बोर्ड दिइन् त ? यो गहिरो प्रश्नको उत्तर शायद ममतासंग मात्र होला तर हाम्रा मानिसले एकपल्ट पनि आफैलाई गहिरिएर सोधेका छैनन् होला ।

जातिय बिकाश बोर्ड थमाएर गोरखाको साझा आकांक्षा गोरखाल्याण्डलाई पूर्ण विराम लगाउने चलखेलको शिकार हाम्रै मानिस भएको हाम्रा बुद्धिजीवीहरूलाई थाहा नभएको हैन तर स्वर्थ र पाखण्डको ताला मुखमा झुण्डाएर जातियता र पहिचानलाई कुल्चिएर हिँड़ी रहेका छन् । जात-जातको संस्कृतिको जगेरना गर्नु आफ्नै ठाँऊमा छ तर के हाम्रा विविन्न जातिय उत्थानको निम्ति गाँऊको बाटो, कमिनिटी हल औ अन्य सिमित बिकाशको निम्ति बंगाल सरकारद्वारा सिमित रूपको आर्थिक कोष भावी पीढ़ी सम्मको निम्ति पर्याप्त छ?

यसको सट्टा रोजगारको द्वार खुला गरी युवा पलायनको रोकथाम गर्न उचित हैन र? युवा नै देशको कर्णधार भन्छन् तर हाम्रा समुदाय र समाजका युवाहरूको बढ़दो पलायनले मेरूदण्ड भाँचिएको विकलांग समाज भएको आभास कसैलाई भएको जस्तो लाग्दैन ।

त्यसर्थ, एक शताब्दी भन्दा पुरानो हाम्रो पुर्खाहरूले गोरखा जातिको अलग राज्य #गोरखाल्याण्ड हुनु पर्छ भन्ने पहिचानको मांगलाई सानोतिनो बिकाश औ विकाश बोर्डहरूसित सम्झौता गर्यौं भने म जस्ता कयौं अरू भारतीय गोरखाहरू विदेशमा मात्र नभएर आफ्नै देशमा पनि त्यही प्रश्न “आर यू फ्रम नेपाल?” सुनेर सदैव तर्सिनु पर्नेछ र आफ्नो अस्तित्व र पहिचानबाट वंञ्चित संसारको अगाड़ी होंचिनु बाध्य भई गोरखा जाति हुनुमा आफ्नो अभिश्राप र दूर्भाग्य भएको ठान्नु बाहेक अरू कुनै उयाय रहने छैन र अरूको हेलचेक्र्याई र द्वेशको चोटको आँशु बोकेर आँउदो भावी पीढ़ीलाई गोरखाको अस्तित्व र पहिचानको दुखदायी कथा दोहोर्याउँन बाहेक कुनै विकल्प रहने छैन ।


Be the first to comment on "गोरखाको हराएको चिनारी : दूर्भाग्य कि द्वेष?"

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.