बन्द चिया बगानको श्रमयात्राः सहकारीको कथा

लेखक – बेबिका खवास

तर अभाग्यवश जुन वाम राजनैतिक उर्जाको सहयोगमा सोनाली बगानले श्रमिकचालित चिया सहकारी संस्था खोली यतिको उन्नति गर्न सक्ने बनायो, त्यही वाम खेमाबाट एक घटक राजनीतिक दल सीपीआईएमले राज्यको राजनैतिक सत्तामा आएपछि बगानलाई फेरि मालिककै हातमा सुम्पिने चेलखेल शुरु भयो। जसको विरोध गर्दा धेरै जना श्रमिक/कर्मचारीहरूलाई झुटो आरोपमा धडपकड़ गरियो। जसको फलस्वरूप यो श्रमिक आन्दोलन भनौं वा अभियान विस्तारै सेलाउँदै गयो। हाल सोनाली बगानटुट्न लागेको अवस्थामा पाउँछौ।

पहाड, तराई, डुवर्सका चियाबगानवासीहरूले आर्थिक, सामाजिक औ राजनैतिक समस्याहरू ब्रिटिश उपनिवेशक कालदेखि नै झेल्दै आएका हुन्। स्वाधीन भारतमा केही श्रमिक-नियममा फेर बदल आएता पनि चिया श्रमिकको अवस्थामा अझ नियास्रो छाएको छ। तरैपनि श्रमिकवर्गले आफ्नो मुक्तिको लागि सङ्घर्ष भने नगरेका होइनन्। यस्तै सङ्घर्षहरूमा कतिले केही अवधिको निम्ति सफलता पाए भने कतिले अझ सङ्घर्ष गरिरहेका छन्। मजदूर पक्षबाट चिया बगान बन्द भए पछि बगानको आर्थिक श्रापदेखि मुक्त बन्न बन्द बगानलाई केही मानिसहरूको नेतृत्वमा (प्रायः जसो कर्मचारी औ युनियनका/पार्टीका नेताहरू) कमिटीहरू गठन गरी बगानबाट हरियो पत्ती नजिकको चिया कम्पनीलाई बेचेको घटना धेरै जसो सुनेका छौँ। यसमा आफ्नो श्रममात्र बेच्ने श्रमिकको कुनै बोल-बाला चल्दैन र यस प्रकारको कमिटीको कुनै औचित्य र वैधता पनि हुँदैन। बन्द कमानलाई श्रमिकवर्गले नै हेरचाह गर्दै अनि सम्पूर्ण बगानको व्यवस्था – जो प्रबन्धक र अरू कर्मचारीहरूद्वारा गरिन्छ – त्यसको जिम्मा पनि श्रमिकहरूले नै लिएको घटना विरलै होलान् तर अवास्तविक भने होइन। वैकल्पिक ढाँचामा चियाको सहकारी अर्थात् कोअप्रेटिभ जसमा बगानका मानिसहरू आफै मिलि बगानलाई चलाएको घटना धेरै टाढ़ा होइन तर हाम्रै वर-परका केही बगानहरूमा घटेको छ। यस लेखमा तपाईंहरू समक्ष दार्जीलिङको मिनरल स्र्पीङ (दबैपानी), डुवर्सको सोनाली र बन्दपानी बगानका केही उदाहरण अघि राख्न चाहन्छु।

मिनरल स्र्पीङ चिया बगान

चिया श्रमिकहरूपनि सामुहिक रूपमा मालिक हुन सक्छन् भन्ने सपनालाई विपनामा परिवर्तन गराउन सफल भएका दबाईपानीका कृषकहरू – जो पहिले बगान श्रमिकहरू थिए –लाई अन्य बगानहरूको निम्ति पनि एक उदाहरणको रूपमा मानी लिन सक्छौं। दार्जीलिङको लेबोङ नजिक हेरिसन र मिनरल स्र्पीङ चिया कमानहरू १९५०-को दशकमा बन्द भएको हुनाले मानिसहरूको आर्थिक औ सामाजिक जीवन चौपट थियो। यस अवस्थामा तिनीहरूले नजिकको चिया बगानलाई हरियो पत्ती बेचेर, गाईवस्तु पालन र वर परको जङ्गलबाट दाउरा, कोइला बेचेर जीविका चलाइरहेका थिए तर जङ्गल सकिँदै गएकोले मानिसहरूले चियाको बुट्टालाई उखेल्दै आफ्नो बल अनुसार बगानको जमिनलाई हड़प्न शुरू गरे। त्यस जमिनमा अन्य खेती शुरू गरे। भारत स्वतन्त्र भएको दुई दशक बित्दा पनि कुनै सरकार पक्षबाट त्यहाँका मानिसहरूबारे खोजी-निधि भन्ने भएको थिएन। सन् १९७३ तिर दार्जीलिस्थित केही नागरिक समाजको (जस्तै, हेडेन हल) हस्तक्षेपमा त्यहाँका मानिसहरूलाई दूधको व्यवासायमा सहायता पुऱ्याए भने १९९६ तिर डी. एल. आर प्रेरणाको सहायतामा त्यहाँका मानिसहरूले संयुक्त विकास संस्था खोली विभिन्न आर्थिक औ सामजिक गतिविधिहरू शुरू गरे।

हाल मिनरल स्र्पीङमा १२ वटा साना-साना गाउँ मिलेर मिनरल स्र्पीङ संयुक्त विकास संस्था चलाउँछन्। ४११ भन्दा बढी परिवारहरू यस संस्थासँग जोडिएर चिया एवं अन्य खेती (सुन्तला, अलैंची, अदुवा, हर्दी इत्यादि) गर्ने गर्छन्। १९९०को दशकको पछिल्ला सालहरूमा दार्जीलिङ चियाले विदेशी बजारमा धेरै भाउ पाउन थालेदेखि मिनरल स्र्पीङका यस संस्थाले चिया खेतीमा ध्यान दिन थाल्यो। २००१-मा यहाँ हुने प्राय उप्जनी नै अर्ग्यानिक प्रमाणित भएको छ। २००३-मा अमेरिकास्थित स्वच्छ व्यापारसँग पनि बिज्नेस पार्टनरशिप छ। मिनरल स्र्पीङ संयुक्त संस्थाले विदेशी मुद्राको हर हिसाब गर्ने व्याङ्क-खाता नभएको तथा आफ्नै एउटा कारखानाको अभावले गर्दा धेरै वर्षसम्म टि प्रोमोटेर्स अफ इण्डियाको साझेदारीमा चियाको व्यवसाय गर्ने गर्थ्यो। सेलिम्बोङ कमानको कारखानामा मिनरल स्प्रिङ ब्रान्ड-को चिया उत्पादन हुने गर्छ। मिनरल स्र्पीङका मानिसहरू संयुक्त विकास संस्थाद्वारा आर्थिक गतिविधिका साथ सामाजिक कार्यहरू पनि गर्ने गर्छन् र यस संस्थालाई चलाउन प्रत्येक दुई बर्षमा उम्मेदवारहरूको स्थिति अनुसार चुनाव वा नामाङ्कन हुने गर्छ।

जसमा जम्मै ११ वटा शाखाबाट नै स्त्री-पुरूष गर्दै उम्मेदवारहरू चुनिन्छन्। मिनरल स्र्पीङका मानिसहरूको श्रमिकदेखि कृषकसम्म को गाथालाई हामी सम्पूर्ण दार्जीलिङको चिया बगानहरूको निम्ति एउटा सर्वोत्तम उदाहरणनै त ठान्नु नमिल्ला, कारण मिनरल स्र्पीङ औ हेरिसन धेरै अघि नै बन्द भएको बगानहरू थिए, जुन समयको राजनैतिक सामाजिक औ राजनैतिक अवस्था अहिलेको सँग मिल्दैन थियो, तर दार्जीलिङ चिया बगानको इतिहासमा मजदूरवर्गलेनै चिया उत्पादनदेखि लिएर अन्तरराष्ट्रिय ग्राहक/बजारसम्मको गतिविधि कुनै मालिक र पारम्परिक मेनेजमेन्टवर्ग बिनानै गर्न सक्षम बनेको उदाहरणलाई भने हामी नकार्न सक्दैनौं।

सोनाली चिया बगान

यस्तै अर्को उदाहरण हामी सत्तरी दशकको माल ब्लकस्थित बाख्राकोट नजिक सोनाली चिया बगान-मा पनि पाउँछौँ। जुन समय भारतका बाँकी मजदूरहरू भर्खरैमात्र आफ्नो हक र अधिकारको निम्ति लड्न सिक्दै थिए, सोही बेला सोनाली बगानका श्रमिकहरू भने चियाको पत्ती उत्पादन अनि व्यवस्थापन आफै गर्ने भइसकेका थिए। सोनाली बगानले सिञ्चेको १९७४-७९ को समय अन्तराललाई मजदूर इतिहासकै एउटा सुनौलो रचना मान्न सकिन्छ। सोनाली बगानलाई मालिकले चलाउन नसकेको खण्डमा बगानलाई मजदुर स्वयं चलाउनमा सबै श्रमिक लगायत वामपन्थी दलका एक मजदुर सङ्घ लागिपरेको थियो। बगानलाई सहकारी संस्थाद्वारा सञ्चालन गर्ने माग राख्न हेतु सोनाली बगानका केही सचेत श्रमिकहरूले सोनालीदेखि जलपाईगुड़ीसम्म टिस्टा नदी पार गरी पैदल यात्रा गरेका थिए। धेरैवटा धर्ना साथै ज्ञापनहरू जिल्ला म्याजिस्ट्रेटलाई दिएपछि अन्तमा चिया सहकारी संस्था चलाउन अनुमति/पञ्जीकरण सफलतापूर्वक हासिल गरे। त्यसपछि चारसालको अवधिमा सोनाली बगानले चिया अनि सम्वद्ध सहकारी संस्था सन् १९७७-मा १०,४३,००० किलो काँचो पत्ता उत्पादन गर्न सफल बन्यो।

यसै सहकारी संस्थाद्वारानै चियागाछ रोपन अझ १० ऐकर जति बढ़ाइएको थियो। १९७५ मा एउटा डिजल चालित जीप मोटर गाडी, एउटा ट्रैक्टर, चाहिने हात-हतियार, बर्साती, बूट-जुत्ता लगायत घर मर्मत, डिस्पेन्सरी, नानीहरूको स्कूल, पिउने पानीको व्यवस्था कुनै म्यानेजर बिनानै यस सहकारी संस्थाले गऱ्यो।अनि आफ्ना सदस्यहरूलाई जम्मै सहुलियत दिलाउन सफल बन्यो। यतिमात्र नभएर, यस संस्थाले सबै श्रमिकलाई समानरूपमा रोज दिन पनि सक्षम बन्यो। स्मरण रहोस्, भारतमा समान पारिश्रमिक अधिनियम (Equal Remuneration Act 1976) केवल सन् १९७६-मा मात्र पारित गरिएको हो। सोनाली बगानको सहकारी संस्थाले अधिनियम शुरु हुन भन्दा अगावै समान पारिश्रमिक दिएर महिला अनि पुरूषबीचको आर्थिक भेदभावसित जुझ्ने उदाहरणयोग्य कार्य पनि गरिसकेको थियो।

त्यति मात्र नभएर पुरूष-महिला समान रूपमा यस उद्यमका कार्यकारी अधिकारी, सदस्य नेता-नेत्री हुने गर्दथ्यो। यस प्रकारको सामाजिक औ सांस्कृतिक परिवर्तन सायद अरू कुनै चिया बगानमा भएको होला। तर अभाग्यवश जुन वाम राजनैतिक उर्जाको सहयोगमा सोनाली बगानले श्रमिकचालित चिया सहकारी संस्था खोली यतिको उन्नति गर्न सक्ने बनायो, त्यही वाम खेमाबाट एक घटक राजनीतिक दल सीपीआईएमले राज्यको राजनैतिक सत्तामा आएपछि बगानलाई फेरि मालिककै हातमा सुम्पिने चेलखेल शुरु भयो। जसको विरोध गर्दा धेरै जना श्रमिक/कर्मचारीहरूलाई झुटो आरोपमा धडपकड़ गरियो। जसको फलस्वरूप यो श्रमिक आन्दोलन भनौं वा अभियान विस्तारै सेलाउँदै गयो। हाल सोनाली बगान टुट्न लागेको अवस्थामा पाउँछौ। श्रमिकले पाउने कुनै पनि सुविधा अनि हक पाइरहेका छैनन्। जे होस्, सोनाली बगानका श्रमिकहरूले सबैलाई चकित बनाउँदै आर्थिक, सामाजिक अनि सांस्कृतिक क्रान्तिको जग बसाल्नमा भने पक्कै ठूलो भूमिका खेलेका थिए भन्ने अड़ानलाई नकार्न सकिन्न।

बन्दपानी चिया बगान

सोनाली बगानको श्रमिक इतिहासले सङ्घर्षको गौरव र पाठ दुवैलाई झल्काएको छ। अनि त्यस समय मजदुर सङ्घले निष्ठापुर्वक आफ्नो भूमिका पालन गरी चिया सहकारी संस्था बनाउनमा सहयता पुऱ्याएको थियो भने वर्तमान बन्दपानी बगानमा एक गैर-सरकारी संस्थाको सहयोगमा श्रमिक अनि अन्य कर्मचारीहरूले चिया सहकारीको स्थापना २०१७-को अप्रिल महिनामा गरे। सन् २०१२ देखि बन्द भएको बन्दपानी बगानका श्रमिकहरूले एकजुट भइ प्रथमत् श्रमदान गरी बन्द रहेको बगानमा काम थाले। गैर-सरकारी संस्थाहरू जस्तै एक्शन एडले श्रमिकहरूमा जागरण साथै समवाई अर्थात् सहकारी संस्था अनि बगान बचाऊ कार्यक्रम विषय परिचालन गर्नमा महत्वपूर्ण भूमिका लिएको हो। बन्दपानी बगानको मालिकले २००६-मा बगानको लिज नविनिकरण नगरेपछि लिज खारेज भयो। त्यसपछि बगान धेरैवटा व्यवसायीहरूको हातमा होमिन पुग्यो। तर बगानको हालत कुनै रूपमा नसुध्रेको हुनाले अन्तमा २०१३ को जुन महिनामा फेरि बगान बन्द भएको थियो।

बन्दपानीका श्रमिकहरूले अनुभवको निम्ति त्रिपुरा राज्यस्थित दुर्गाबाडी चिया सहकारी संस्थाको भ्रमण पनि गरेका थिए। त्रिपुरा राज्यमा पनि ७०-८०को दशकमा धेरै चिया बगानहरू बन्द हुन थालेपछि त्यहाँकै श्रमिक अनि केही विशिष्ट व्यक्तिहरू मिलेर बगान चलाउन सहकारी संस्था खोले। भनिन्छ, सुरू गर्दा केवल १४ जना सदस्यहरू मात्र थिए। हाल सदस्यता १० गुना बढेर गएको छ। यस सहकारी संस्थाले सन् २००२ मा १४ लाख हरियो पत्ती पेल्न सक्ने आफ्नै एउटा प्रोसेसिङ यूनिट पनि बनायो। अहिले कुल उत्पादन प्रतिबर्ष ३ लाख किलो हुनेगर्छ। गत बर्ष त्यहाँका सदस्यहरूले ४४ प्रतिशत बोनसको लाभ उठाए। प्रत्येक सदस्यको खाँचोहरूलाई पनि ध्यानमा राखिन्छ। सदस्यको परिवार मध्ये कोही शिक्षित छन् भने उसको निम्ति पनि त्यही संस्थाभित्र काम काजको व्यवस्था राखिएको छ। सोनाली बगानका विगत श्रमिक चालित चिया सहकारी कुनै एक मजदुर सङ्गठनको सहयतामा हुन पुगेको थियो। बन्दपानीको चिया सहकारीको पञ्जिकरणसम्म एक गैर-सरकारी संस्थाको सहयतामा हुन पुग्यो। तर दुवै प्रकारका प्रयासमा श्रमिकसमूहबाट आउन पर्ने जोश, हौशला एव एकबद्धताले नै यी दुई बगानहरू यहाँसम्म पुग्न सकेको हो। दार्जीलिङको मिनरल स्र्पीङ अर्थात् दबाईपानीमा पनि एक गैर-सरकारी संस्था प्रेरणाले त्यहाँका बासिन्दाहरूलाई चिया श्रमिकदेखि कृषक बन्नमा मदत पुऱ्यायो। उल्लेखनीय छ, सन् १९७७ मा किसान सभातो प्रयासमा दबाईपानीका बासिन्दाहरूको जमिन अधिकारिक रूपमा नाप्ने अनि वितरण गर्ने काम शुरू भएको थियो। यसरी एक नबन्द चिया बगानको जग्गा श्रमिकहरूको अधिनमा आयो अनि त्यस जग्गा माथि सामुहिक रूपमा चियाको खेती अनि अन्य थुप्रै कृषि जन्य उत्पादनमा संलग्न भई आफ्नो जीवनशैलीलाई उकास्न सक्षम बने।

दार्जीलिङ, तराई अनि डुवर्स लगायत भारतको अन्य चिया बगानहरूको इतिहास ब्रिटिस-राजको एउटा औपनिवेशिक उद्यमसँग जोडिएको पाउँछौ। ब्रिटिशकालदेखि अहिलेसम्म पनि चियाको मोल चाहे त्यो दार्जीलिङ होस् वा डुवर्स होस् भेराईटी बढेको बढेकै छ। तर त्यही मुल्यवान चियालाई खुन पसिना एक गरी उत्पादन गर्ने मजदुरको श्रमको मूल्यले भने खुड्किलो नै टेक्दैन।

भारत स्वाधीन भएपछि चिया उद्धम स्थानीय/राष्ट्रिय मालिकहरूको हात लागेपछि त झनै श्रमिकको जीवन राज्यको अधिनियम औ योजनाहरू (जस्तै लेबर एक्ट, प्लान्टेसन लेबर एक्ट इत्यादि, पञ्चायत) र म्यानेजमेन्ट बिचको छेलो खेलाईमात्र हुन पुग्यो। राज्य/केन्द्र सरकार बन्द चिया बगानमा प्रत्येक स्थायी श्रमिकको निम्ति महिनामा FAWLOI (Financial Assistance to the Workers in Locked Out Industrial Units) दिन तयार छ तर त्यही बगानलाई खोल्न भने सक्दैन। चिया श्रमिकको अनि अन्य रकम पचाएर धोका दिने मालिक तथा यस्तो व्यस्थापना हामी लछेप्रै पाउँछौ, तर कुनै मालिकले जनतालाई ठगेको विरूद्धमा उमाथि कुनै प्रकारको कार्यवाही भएको खबर हामीले सायदै कतै सुनेका छौं।

श्रमिकको आवाज बनी निस्केका प्राय मजदुर यूनियनहरू पनि धेरजसो दलाल भई हुर्किएको तथ्यलाई कसैले नकार्न पनि सक्दैन। यस्तै प्रकारका लूट अनि शोषणको शिकार हुँदै आएका पिँढि दर पिँढि श्रमिकवर्गले आ-आफ्नो ढङ्गमा विगत कालहरूमा अनि आजको दिनमा पनि निकास खोज्दै आएको हो। यदि यस्तो समयमा आएर बन्द अनि ग्रस्त चिया बगानहरूमा श्रमिकहरू आफै चिया उत्पादन गरेर चिया उद्योगलाई सामुहिक रूपमा चलाउन सके चिया श्रमिकमाथि भइरहेको शोषण प्रणालीले फड्को मार्नेछ।

सुन्नमा यो कुरा निकै भावनात्मक र काल्पनिक नै लाग्ला तर हाम्रै जग्गामा केही बगान जस्तै सोनाली, मिनरल स्र्पीङ, बन्दापानी र अन्य कतिपय चियाबारीका मानिसहरूले एउटा अविष्मरणीय ज्युँदो इतिहास रचेर हामी समक्ष साक्षी बनि उभेका छन्।

यस विकल्पलाई ज्वलन्त बनाउन सबै भन्दा मुख्य कुरो भने राजनैतिक संकल्पको हो जसको निम्ति हरेक चेतनशील व्यक्ति, व्यक्तिसमूह, मजदुरसमूह, युवा-विद्यार्थीवर्ग, राजनैतिक दलहरू अघि आउँनपर्नेछ अनि मात्र अङ्ग्रेजकालदेखिको औपनिवेशिक शोषण भोग्दै आएका चिया बगानका श्रमिकहरूले नौलो विकल्पको अनुहार हेर्नेछन्।

[Source: The Times Dooars]

Be the first to comment on "बन्द चिया बगानको श्रमयात्राः सहकारीको कथा"

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.