Sudarshan Limbu

Election Talks – साँईलाको सीधी बात नो बकवास

हो साँच्चै हाम्रो जातिलाई, हाम्रो समाजलाई पनि परिवर्तनको नितान्त खाँचो छ। एउटा नयाँ परिवर्तन जसले हाम्रो आकांक्षा बोकेर ल्याएर दिएको होस्। जसले गरीब दुखी चिया बगान श्रमिकहरूको रगत पसिनाको हक र अधिकार -न्यूनतम ज्याला प्रदान गरेको होस्। पिता पुर्खादेखि बस्दै आएको घर जमिनमा मालिकाना हक र अधिकार- पर्जा पट्टा दिलाएको होस्। त्यो परिवर्तन जसले गोर्खाहरूको शताब्दी पुरानो मांग अनि आकांक्षा ” स्थायी राजनीतिक समाधान” ल्याएको होस्। कल कारखाना , संरचना, रोजगार ,शिक्षा आदि कुराहरूले बिकासको नयाँ आयाम तयार पारेको होस्। त्यो नयाँ परिवर्तन जसले गोर्खा जातिलाई पनि राष्ट्रको हरेक छेत्रमा अनि स्तरमा प्रतिनिधित्व र प्रतिस्पर्धा गर्ने मौका दिएको होस्। त्यो परिवर्तन जसले गोर्खाहरूको दूर्भाग्य र द्वेष मेटाई दिएको होस्। त्यो परिवर्तन जसले हामी गर्वसित भन्न सकौं कि हामी आप्रवासी होइनौं- हामी भारतीय हौं। त्यो परिवर्तन जसले हाम्रो शिर खडा गरीदिएको होस्। त्यो नयाँ परिवर्तनको नयाँ बिहानीको न्यानो घाम गोर्खा जगतमा उदाएको होस्