अचेल दार्जिलिङ


कवी : जय कुमार राई, बिजनबारी

कुनै ठूलो अपराध गरे जस्तै 
अनुहारमा स्पष्ट देखिने अात्माग्लानि बाेकेर
कञ्चनजंगाकाे अगाडि शिर निहुराएर
उभिएको छ अहिले दार्जिलिङ ।

अचेल हत्तपत्त बस्दैन चाैरास्ताकाे चाैकीमा दार्जिलिङ
न त घुम्न निस्कन्छ बर्चहिल र शर्बरी पार्क
उति हिँड्दैन अहिले दार्जिलिङ
महाकाल डाँडाकाे उकालो/अाेह्रालाे
अनि सधैं जस्तो फुल्दैन दार्जिलिङ
बाेटानिकल गार्डनमा पनि।

दिन्हाैं सुमेरु मञ्चबाट सुनिरहन्छ दार्जिलिङले
अाफै बलत्कार भएकाे भयावह हल्ला
अनि त्यहीँ उभिएर अवाक बन्दै पढिरहन्छ
भित्ताभरि टाँसिएका पाेस्टरहरुमा
अाफ्नै लिलामीकाे राेचक विज्ञापन ।

कहिलेकाहीँ
कसैको दाउमा परेकी द्राैपदी झैं
सकाेंच पालेर भिडभित्र एक्लै हिँडिरहन्छे दार्जिलिङ ।

यस्तो लाग्छ
एकदिन अाफैसित डराएर अाफैदेखि
धेरै टाढा भाग्न सक्छ दार्जिलिङ ।


SEE ALSO:  Tēśrō Pravāha Huncha - The Teesta Flows On

Be the first to comment on "अचेल दार्जिलिङ"

Leave a comment

Your email address will not be published.


*