ग्रीन टी – Green Tea
राती ताप्केमै छाडेको
हाते चियाको बासी छोकरा
अलिकति पानी थपिएपछि
एकपल्ट फेरि उम्लन्छ भुलुक-भुलुक
चाल्नीबाट छिर्दै बगेको झरनाले
बनाउँछ कलाईको मगमा सुन्दर तलाउ
अनि शुरू हुन्छ साइरन कुरेर बसेको
कुनैपनि कमानको एकैखाले बिहानी
फीका चियारङको तातो घुट्कीसंगै ।
लाटो पाहाडको पिँठ्यूमा चडेर
शोषक चाबुककले हानिबस्छ / खेलिबस्छ
अन्ध-धुन्द चोटिल चान अनि
चुँडिबस्छ कुमारी मुनाहरुसंगै
बुख्याँचा बोटहरूसितै कचल्टिएका
चियाबारीका बोनसाइ सपनाहरु ।
पुस्तौंदेखि चर्म रोगले ग्रसित हातहरू
नियमित चुँडछन पात र सुइरोहरू
पसिना-पानी, पसिना-घाम
भिजेको पसिना, सुकेको पसिना
लुकेको पसिना, दुखेको पसिना
मजदूरको पसिनाहरूबाट
नुन-नुन छुट्ट्याउँछ मालिकले
अनि चियाबारीको घाउमा
बेला न कुबेला छर्छै छर्छ ।
श्रमका थुङ्गा थुङ्गा फुलको माला पहिरिएर
मालिक चियाबारी डुलेको कुनै भयानक दिन
क्यामाराहरू पनि सँगै डुल्छन्
सुन्दर चियाबुट्टा अघि पोज दिन्छिन्
कुनै अर्ध-नग्न हाइ-प्रोफाइल मोडल ठिटी
बिश्व प्रशिद्ध ‘ग्रीन टी’को कभरमा
कुन्नि-कसरी छलिन्छन् चियाबारी ।
उत्पादन तिथि: साँइली रोजमा पसेको दिन ।
समाप्ति तिथि: जेठाले अवकाश पाउने दिन।
मूल्य: श्रमिकको हाजिराभन्दा हजार गुणा मात्र अधिक ।
अतिरिक्त कर: दसैँको बोनसजस्तै मालिकलाई पनि बक्सीस ।
काँचो रगतजस्तै अक्षरहरू
कुदिरहन्छन् किरिङ्ग-मिरिङ्ग
‘ग्रीन टी’को कभरभरि
पोखिरहन्छन् अस्तित्वका गुनासोहरू
लडिरहन्छन् वर्चस्वका युद्धहरू।
मालिक मौन हुन्छ सधैँ सधैँ जस्तो
श्रमिकहरूको बिरोधाभासको प्रतिरूप
ऊ चियाबारीको ठुलो भित्तिचित्र बनाउँछ
अनि झुण्ड्याउँछ आफ्नु ड्रइङ रूममा
कैंयौ कालसम्म तुन्द्रुङ्ग ।
कवी: विकाश आले
Leave a comment