विश्व पर्यावरण दिवस 2021: पारिस्थितिकी तंत्रको पुर्नस्थापना

World Environment Day

हरेक सालझै यो सालपनि हामी विश्व पर्यावरण दिवसको पालन वैश्विक स्तरमा गरिरहेका छौँ। वैश्विक पर्यावरणमा आइरहेको व्यापक बदलावहरू निश्चयनै हामी सबैको निम्ति चिन्ताको विषय बनेको छ। ग्लोबल वार्मिंग, असंतुलित मौसम, प्रकृतिक प्रकोपहरूको बढ्दो घटनाहरू, प्रदुषणको फैलावट र व्यापकता आदि वैश्विक पर्यावरणमा देखिएको प्रमुख चुनौतीहरू हुन्। हुनत् गन्दै लाँदा, स्थानीय स्तरदेखि लिएर वैश्विक स्तरसम्म पर्यावरण सम्बन्धित चुनौतीहरू अनगन्तीमा छन्।

हरेक साल, कुनै पनि आयोजक देशको सहायताले सयुक्त राष्ट्र पर्यावरण कार्यक्रम अथवा यूएनइपी-ले पर्यावरण दिवसको आयोजना गर्ने गर्दछ। पर्यावरण दिवसको पालना गर्नुको प्रमुख उद्देश्य नै, हरेक साल पर्यावरण अनि यसमाथिको चुनौतीहरूको व्यापक जागरुकता अनि चर्चा गर्नु साथै सठिक प्रावधान अनि योजना वा परिकल्पनाहरू तयार गर्नु वा वैश्विक स्तरमा साझा गर्नु हो।

यो सालको पर्यावरण दिवसको आयोजना हाम्रो छिमेकी राष्ट्र पाकिस्तानले गरिरहेको छ भने, यो बर्षको पर्यावरण दिवसको बिषय अर्थात् थिम रहेको छ- “पारिस्थितिकी तंत्रको पुर्नस्थापना अर्थात् इकोसिस्टम रेस्टोरेसन्”।

World Environment Day

हामी सबैलाई सर्वविदितै भएको कुरा हो की, यो परिवेशमा केवल हामी मानव संसाधन मात्र रहन असम्भव छ। मानव समाजको तंत्र प्रत्यक्ष अनि परोक्ष रूपमा कहिँ-कसैसँग निर्भरतामा रहेको छ भने आफ्नो अस्तित्वको निम्ति यो आवश्यक पनि हो। हाम्रो परिवेशमा, सजिव र निर्जीव वस्तुहरूको व्यापक समागम रहेको छ। यसै समागमको साहारामा नै हाम्रो अस्तित्व निर्भर रहेको छ।

मानिसलाई बस्ने घरदेखि लिएर, शुद्ध हावा (अक्सिजन), खाध्यान्न आदि सबैनै हाम्रो परिवेशको सजिव र निर्जीव वस्तुहरूको समागमले प्रदान गरेको छ।

इकोसिस्टम जसलाई हाम्रो भाषामा पारिस्थितिकी तंत्र भनेर भन्छौँ यसको अर्थ हुन्छ कुनै पनि परिवेशमा रहेको सजिव र निर्जीव वस्तुहरूको समागम वा व्यवस्था हो। इकोसिस्टम एउटा यस्तो तंत्र हो जहाँ सूक्ष्म जीवदेखि लिएर विशालकाय जीवहरू एउटा परिवेशभित्र रहेर एक अर्कामा परिपूरक भएका हुन्छन्। यदि उक्त तंत्र वा व्यवस्थामा कुनै एउटा सजीव वा निर्जीव वस्तुको अनुपस्थिती वा लोप हुन्छ भने, त्यसले सम्पूर्ण परिवेश र तंत्रलाई नै व्यापक प्रभाव पार्ने गर्छ।

SEE ALSO:  Shout Out to Trimel Samaj, ChongTong

दुर्भाग्यवश,  हाम्रो इकोसिस्टममा व्यापक ह्रासोन्मुख भइरहेको छ। पर्यावरणमाथिको हाम्रो व्यापक र गैरजिम्मेवारपूर्ण अभ्यास र स्वार्थ मनोवृत्तिको फलस्वरुप हामीले, हामीबिचको संतुलनलाई विस्तारै गुमाइरहेका छौँ। आजभन्दा दुई दशक अघिसम्म हामी यसबारे अनभिज्ञ वा कम-चिन्तित थियौं भने, वर्तमानमा, हामीलेनै ल्याएको परिवेश-असंतुलनले अब हामीलाई सबैभन्दा धेर प्रभावित गरिरहेको छ, जो स्थानीय स्तरदेखि लिएर वैश्विक स्तरको मानव समाजको निम्ति खतराको घन्टी हो।

यिनै परिवेश असंतुलनको खतरालाई ध्यानमा राख्दै, यसपालीको पर्यावरण दिवस 2021-को थिम अर्थात् बिषय-इकोसिस्टम पुर्नस्थापना  राखिएको छ।

आउनुहोस्, आज हामी कसरी हामी व्याक्तिगत वा स्थानीय स्तरमा हाम्रो इकोसिस्टमलाई पुर्नस्थापना गर्न सक्छौँ भन्ने अभ्यासहरूबारे चर्चा गर्नेछौँ। यदि हामीमा पर्यावरण र परिवेशप्रति व्यवहारिकता आएमा, हामीले धेरै सकारात्मक प्रभाव हाम्रो परिवेशमा पार्न सक्छौँ।

World Environment Day

1) तपाईको परिवेशलाई सकेभर प्राकृतिक अनि हरियाली राख्ने प्रयास गर्नुहोस्। आफ्नो वरिपरिको परिवेशलाई प्राकृतिक रूपमा नै राख्नु आजको बदलिँदो विकासमा धेरै कठिन छ तर, हामीले यो सधैँ याद गर्नपर्छ की, हामी मात्र यो परिवेशमा बाँचेका छैनौँ। हामीसँग धेरैवटा सजिव र निर्जीव वस्तुहरू निर्भर छन् भने हामी पनि यस्ता वस्तुहरूमाथि त्यतिनै निर्भर छौँ । यसैकारण परिवेशलाई सकेभर हरियाली अनि प्राकृतिक राख्ने प्रयास गरौँ।

2) एकपटक मात्र प्रयोग गरिने पोलिथिन व्यागको प्रयोगलाई कम गरौँ। हामी सबैलाई सर्वविदितै छ कि,  एकपटक मात्र प्रयोग गरिने पोलिथिन व्यागले हाम्रो परिवेशमा अत्यधिक हानी पुर्याउने गर्दछ। अहिले चारैतिर बजारहरू, गाउँ बस्ती, नाला-झोडा, पर्यटक स्थलहरू, घरको कूडादान आदि सबैने ग्रसित छ पोलिथिनको रोगले।

यसैकारण,  सकेभर पोलिथिनको प्रयोग कम गरौँ। साग-सब्जीको खरिददारी गर्दा, बजारमा किनबेच गर्दा पोलिथिनको व्यापक प्रयोगलाई कम गर्नेअभ्यास गरौँ  प्रयोगमा ल्याइएको पोलिथिनलाई जथाभावी फ्याक्नको सट्टा, अन्य कुनै कार्यमा प्रयोग गर्ने गरौँ साथै फ्याक्न परेमा पनि यो नकुहुने फोहोरको सठिक व्यवस्थापन सुनिश्चित गर्न अति आवश्यक छ।

SEE ALSO:  Amazon Forest Fire: Perceiving ecological fragility of Darjeeling Himalayas

3) स्थानीय स्तरमा जैविक किनबेचको अभ्यास गरौँ। स्थानीय हाट-बजारमा जैविक अनि स्थानीय स्तरमा उत्पादन भएका साग-सब्जीहरू, फलफूल अनि अन्य सामाग्रीहरूको किनबेच गर्ने प्रयास गरौँ । यसो गर्नाले बाहिरबाट आउने अनावश्यक फोहोरहरूको प्रकार र मात्रा दुवैमा व्यापक कमि आउनेछ। ठूला-ठूला सपिंग मालहरूमा गएर किनेका थोकैपछिको पोलिथिन व्याग थाप्नभन्दा र सानोभन्दा सानो वस्तुहरू पनि पोलिथिनको सिलबन्द धोक्रोभित्र किनेर भक्कु फोहोर उत्पादन गर्नुभन्दा स्थानीय स्तरको खरिददारी गर्नु बढी बुद्धिमत्ता हुन्छ। यसले स्थानीय स्तरको अर्थतन्त्रलाई पनि मजबुती दिने गर्दछ।

4) तपाईको वरिपरिकी वन्यजीवहरूको अवलोकन अनि खबर लिनुहोस्। हाम्रो वरिपरि रहने विभिन्न वन्यजीवहरू हाम्रो इकोसिस्टमको निम्ति प्रमुख परिपूरकहरू हुन्। इकोसिस्टममा मानवको उपस्थिति जत्तिको महत्वपूर्ण छ; त्यतिनै महत्वपूर्ण यहाँ रहेका वन्यजीवहरूको पनि छ। यसैकारण हाम्रो परिवेशमा भएका वन्यजीवहरूको अवलोकन अनि खबर लिनु हाम्रो परिवेश स्वास्थ्य अनि स्वच्छताको एक मापदण्ड मान्न सकिन्छ। आजभन्दा पाँच बर्ष अघिको वन्यजीवहरू के वर्तमानमा त्यहि परिवेशमा विधमान छन् वा अब देख्न पाइन्न, यस्ता अवलोकनहरूले हाम्रो परिवेश स्थितिको बारेमा अध्ययन गर्न अनि यसको पुर्नस्थापना गर्न सहयोग गर्छ।

World Environment Day

5) आफ्नो कार्बन-फूटप्रिन्टलाई सकभर घटाउनुहोस। जतिसक्दो छोटो दुरीको यात्राहरू पैदल गर्नुहोस्। बजार किनबेच गर्न जाँदा वा कहि, केहीक्षणको निम्ति जाँदा यदि, दुरि नजिक भएको खण्डमा पैदल हिडनुहोस्। यसले गाडीहरूबाट उत्सर्जन हुने कार्बनको मात्रा पर्यावरणमा कम हुन्छ भने तपाईको स्वास्थ्यलाई पनि यसले फाइदा गर्नेछ।

6) पर्यावरण संरक्षण अनि पर्यावरणमाथि काम गर्ने संस्थाहरूसंग जोडिनुहोस। हाम्रो ठाउँमा धेरैवटा पर्यावरण संरक्षण अनि पर्यावरणमाथि कार्यहरू गर्ने गैरसरकारी संस्थाहरू छन्; जोहरूसंग हामी जोडिएर पर्यावरण संरक्षण, जागरुकता आदि सामाजिक कार्यहरूमा हात बढाउन सक्छौँ। यो हामीले गर्नुपर्ने कर्तव्य पनि हो। आफ्नो फाइदाको निम्ति मात्र होइन तर, पर्यावरण र हाम्रो परिवेशको निम्ति पनि हामीले जिउने बानि बसाल्नु पर्छ।

SEE ALSO:  Exploring Gandhi: the Zero-waste Practitioner

7) अरूहरूलाई पर्यावरण संरक्षणमाथि जागरूक अनि हौसला दिनुहोस्। यदि तपाई जागरूक हुनुहुन्छ भने, तपाई र मेरो कर्तव्य यो पनि हो कि,  हामीले अन्यलाई पनि पर्यावरण संरक्षण,  स्वच्छता,  संतुलित व्यवस्थापन आदिमाथि जागरूक गराउन पर्छ साथै यो अभियानमा जोड्दै लानपर्छ। विशेषगरी आउने पुस्तालाई पर्यावरण संरक्षण अनि यसको संतुलित व्यवस्थापनमाथि समयमानै जागरूक गराउन आवश्यक देखिन्छ।

आउनुहोस् यो बर्षको पर्यावरण दिवसमा प्रण गरौँ कि, हाम्रो परिवेश र यसको स्वास्थ्य तानाबानाहरूलाई हामीले अक्षुण राख्ने अनि भत्किएका साथै असंतुलित पारिस्थितिकी तंत्रलाई पुर्नस्थापना गर्दै जाउँ; ताकि हाम्रो भोलीका दिनहरू स्वच्छ हावा र स्वास्थ्य परिवेशमा बित्न सकोस्।

सम्पूर्ण पाठकवर्गमा, पर्यावरण दिवस 2021-को हार्दिक शुभकामना!!

लेखक – नोएल गिरी


Be the first to comment on "विश्व पर्यावरण दिवस 2021: पारिस्थितिकी तंत्रको पुर्नस्थापना"

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.