दार्जीलिंग पहाड़को राजनैतिक परिप्रेक्ष्यमा – झारखण्ड चुनावको नतीजा बीजेपीलाई असल पाठ
सन २००९ पछि केन्द्रमा मनमोहन सिंह नेतृत्वाधीन कॉंग्रेस शासित सरकारको दोस्रो कार्यकाल एक पछि अर्कों घोटाला र भ्रष्टाचारहरुमा लिप्त भएपछि अनि प्रत्येक दिन कुनै न कुनै यस्ता घोटाला र भ्रष्टाचारहरूको उजागर हुने क्रमले देश अनि देशवासीहरूमा एउटा ठूलो नैराश्यताको माहौल छाएको थियो । जनता कॉग्रेस सरकारदेखि वाक्क दिक्क भएपछि एउटा बिकल्पको तलाशमा थिए। मनमोहन सिंहको दोस्रो कार्यकालको विफलताले विपक्षी दल बिशेष गरी भारतीय जनता पार्टीलाई आफ्नो जनाधार बलियो बनाउने मौक़ा मिल्यो ।
यसैको लाभ २०१४ को लोकसभा चुनावमा नरेन्द्र मोदी अनि बीजेपीलाई पुग्न गयो अनि आफ्नो रेकर्ड मार्जिनको साथ २५ बर्षपछि भारतको केन्द्र सरकारमा एक्लो राजनैतिक पार्टीद्वारा बहुमतको सरकार गठन गर्न सक्षम बने । यसपछि मोदी शाहको जोड़ीद्वारा चर्चित नरेन्द्र मोदी अनि अमित शाहको बेजोड़ तालमेल र आक्रामक रणनीतिद्वारा सात दशकसम्म भारतमा राज गर्ने अनि भारतका बिभिन्न राज्यहरू जो कॉंग्रेसका गड़ भनी चिनिन्थ्यो , यी दुईको रणनीतिले ध्वस्त पारी दियो । १९८४ मा दुईवटा मात्र सांसद रहेको भारतीय जनता पार्टी २०१४ पछि २२ वटा राज्यहरुमा आफ्नो सरकार गठन गर्न सक्षम बने ।
२०१९ को लोकसभा चुनाव जित्न आफूले सोंचे जस्तै यी दुई जोड़ीलाई सजिलै थियो अनि परिणाम पनि आफूहरूले सोंचे भन्दा अझ राम्रो निस्किए । नरेन्द्र मोदीको दोस्रो कार्यकालमा अमित शाह गृह मंत्री बने अनि दोस्रो कार्यकालको संसदको पहिलो सत्रमा नै धारा ३७० हटाउने बिल ल्याएर बिपक्षी देखि लिएर सबैलाई चकित तुल्याए ।
केन्द्रमा मोदी सरकारका कार्यशैलीहरूले हामीलाई १९८८ देखि २००६ समम्को सुवास घिसिंगकालीन युगको याद दिलॉउछ जसको ध्यान स्थानीय मुद्धाहरूभन्दा अन्य मुद्धाहरूमा धेरै केन्द्रित रहन पुग्यो अनि दार्जीलिंग पहाड़मा स्थानीय मुद्धा र समस्याहरूको पहाड़ बनेर गयो अन्तमा जनताको असन्तुष्टिको ठूलो सामना गर्न पर्यो ! दुई दशकसम्म पहाड़मा एक़क्षत्र राज गर्ने सुबास घिसिंग युगको अन्त जनताको असन्तुष्टि नै मुख्य कारण बन्न पुग्यो ।
केन्द्रको भाजपा सरकार पनि दिनोंदिन स्थानीय मुद्धा र आफ्नो चुनावी वाचाहरू पूरा गर्ने क्रममा टाड़िन्दै गएको भान हुन्छ । यस बर्षको लोक सभा चुनावपछि बिभिन्न राज्यहरूमा भएको विधान सभा चुनाव र यसको नतिजापछि भाजपालाई आफ्नै बलबूतामा सरकार गठन गर्न परेको कठिनाई र आफ्नै चुनावी गठबन्धन सहयोगी दलद्वारा विश्वासघात भएको र सत्ता गुमाइएका घटनाहरूबाट ठूलो शिक्षा लिनुपर्नेछ । भाजपा राष्ट्रीय दल र केन्द्रमा सत्तासीन भएको हेतुले प्रान्तीय स्तरमा आफ्नो जनाधार बड़ाउनुको निम्ति क्षेत्रीय राजनैतिक दलहरूसित तालमेल राखेर पछिबाट आफ्नो जनाधार बलियों भएको भान भएर अति आत्मबिश्वासको कारणले यी क्षेत्रीय राजनैतिक दलहरूलाई अनदेखा गरेर एक्ला चलो नीति अप्नाएर हिंड़दा पराजयको सामना गर्नु परीरहेकोछ ।
भोलिको दिनमा भाजपाको आफ्नो कुनै आधार नै नभएको दार्जीलिंग पहाड़मा यस्तै अति आत्मविश्वासको कारण स्थानीय राजनैतिक दलहरूलाई पछाड़ेर एक्लै लड़ने नीति वा योजना बनाए यो भाजपाको निम्ति ठूलो घातक सिद्ध बन्नेछ । त्यसै पनि भाजपा पछिल्लो दैलोबाट छिरेर आफ्नो योजना सफल बनाउने रणनीतिमा खप्पीस छन र यसैमा जानिन्छन ।
२०१४ र २०१९ मा गोर्खाहरूको निम्ति बिशेष गरी ११ जातिहरू जो जनजाति हुनबाट छुटेका छन उनीहरूलाई जनजातिको दर्जा र दार्जीलिंग, तराई र डुवर्सको स्थायी समाधानबारे भाजपाको राष्ट्रिय संकल्प पत्र समेतमा समावेश हुन पुगेको यी दुई अहम मुद्धाको छिना फ़िना २०२१ को बंगाल बिधान सभा चुनाव अगावै हुनपर्नेछ ।
हुन सक्छ दार्जीलिंग, तराई, डुवर्सको स्थायी समाधान हेतु बंगाल विधान सभा अघि भाजपाको आफ्नै विवशता हुन सक्छ तर छुटेका ११ जनजातिहरूलाई जनजातिको दर्जा भने दिलाउनै पर्नेछ। २०१४ को डुवर्सको मालबजारबाट आफ्नो चुनावी भाषणमा तत्कालीन भाजपाका प्रधानमंत्री उम्मेद्वार र बर्तमान प्रधानमंत्री श्री नरेन्द्र मोदीद्वारा गोर्खाका यी छुटेका ११ वटै जातहरूको एक एक गरी नाम लिएर जनजातिको दर्जा दिलाउने प्रतिबद्धता जाहेर गरेका थिए । तर २०१४ पछि बिभिन्न कमिटिहरू गठन पश्चात भारतीय गोर्खाहरूलाई जनजातिको दर्जा हेतु कुनै ठोस कार्य नै भएन अनि शंका लाग्छ कहीं हामीलाई भुल्लाउने काम मात्रै त भएन?
२०१९ को लोकसभा चुनावपछि विपुल मतले विजयी हाम्रा युवा, जोशिला र जॉगरिला सांसद श्रीमान राजु बिष्टज्यूद्वारा १७ औं संसदको पहिलो सत्रमै अनि पहिलो दिन नै यी मॉगहरू सदनमा उठाएर उनले आफ्नो इमान्दारिता र प्रतिबद्धताको परिचय दिन सक्षम बनेका छन तर उनकै पार्टीका राष्ट्रीय अध्यक्ष श्रीमान अमित शाह र प्रधानमंत्री नरेन्द्र मोदी समेतले आफ्नै मुखारवृंदबाट जनताको सामु निकालेको वचनलाई पूरा गर्नको निम्ति भाजपाको सर्वोच्च निर्णायक संसद समितिमा यसको उठान गरी समस्याको झट्टै समाधान गर्न ज़रूरी छ। अनि यो निर्णय सम्पूर्ण गोर्खा जातिको हितमा मात्रै नरहेर भाजपाको हितमा पनि रहनेछ !
समस्याहरूको सगरमाथा नै बनिसकेको दार्जीलिंग पहाड़मा समस्याहरूको एक एक गरी निराकरण गर्न हेतु दार्जीलिंग पहाड़मा केन्द्रिय विश्वविघालयको निर्माण अति आवश्यक छ । १९८६को गोर्खाल्याण्ड आन्दोलनपछि खस्किएको दार्जीलिंगको शिक्षाको गुणस्तरलाई बड़ाउन यहॉ निर्मित केन्द्रिय विश्वविध्यालयले मात्र सहयोग पुर्याउनेछ । त्यसो त दार्जीलिंग पहाड़मा अझ पनि धेरैको संख्यामा असल अनि विश्व प्रसिद्ध स्कूलहरू छन् अनि पहाड़को शैक्षिक प्रणालीलाई र विध्यार्थीहरूलाई उच्च गुणवंत शिक्षा प्रदान गर्नको निम्ति दार्जीलिंग पहाड़मै केन्द्रिय विश्वविध्यालयको निर्माण अनिवार्य छ ।
दार्जीलिंग पहाड़मा केन्द्रिय विश्वविद्यालय निर्माण नहुनुमा हामी पहाड़बासी पहिलेदेखिका सत्तारुढ़ राजनैतिक दलहरूदेखि ठगिंदै आएका छौं । कहिले डीपीआर तयारी नभएको , कहिले केन्द्रको प्लानमा नरहेको इत्यादि बगमफुस्से कुराहरूले हाम्रो आफ्नै विश्वविद्यालय हुने सपना र सोंचदेखि टाड़ा हुँदै गयौं अनि यो विषय नै अचेल ओझेल हुँदै जॉदैछ ।
दार्जीलिंगको वास्तविक विकास भनेको शिक्षा हो ।आज हाम्रो जाति र समाज शिक्षित छन् भने विकास आफै आफ हुने चीज़ हो ।यसको लागि हामीले सोंचीरहनु नै पर्दैन । केवल झोड़ा नालाको निर्माण मात्रै विकास होइनन् । अब विकासलाई देख्ने र नियाल्ने हाम्रो चश्मा र सोंचलाई परिवर्तन गर्नुपर्छ । दार्जीलिंगलाई भौतिक विकासभन्दा पनि बौद्धिक विकासको खॉचो छ । दार्जीलिंग पहाड़मा गुणस्तरीय,उत्कृष्ट शैक्षिक संस्थानहरूको अभाव र कमीले धेरै प्रतिभाहरू उच्च शिक्षा आर्जन गर्नदेखि वण्चित भएका छन् ।अनि ज-जसले दार्जीलिंगदेखि बाहिर गएर उच्च शिक्षा आर्जन गर्न सके उनीहरू त्यतैतिर पलायन भए । यसरी दार्जीलिंग पहाड़ प्रतिभा पलायन (brain drain) को विमारीले ग्रसित छ जो दार्जीलिंग पहाड़को हित सोंच्ने र दार्जीलिंग पहाड़को शुभचिन्तकहरूको निम्ति भने पटक्कै शुभ लक्षण होइन ।
ब्रिटिशकालीन युगमा ब्रिटिशहरू यहॉको जलवायुदेखि प्रभावित भएर स्वास्थ्य लाभको निम्ति अाविष्कार गरेका दार्जीलिंग पहाड़मा आज पर्यन्त मेडिकल कलेजको निर्माण हुन नसक्नु साथै पर्यटनको क्षेत्रमा विश्वविख्यात दार्जीलिंगमा (Institute of Hotel Management IHM) जस्ता शैक्षिक संस्थानहरू नहुनु अनि हाम्रा भाई बहिनीहरू देश विदेश बिशेष गरी खाड़ी देशहरूका ठूला ठूला होटल अनि रेष्टुरेन्टहरूतिर बिना IHM का डिग्री पनि काम गरी जीवन यापन मात्र होइन तर विश्वलाई नै हाम्रो आतिथ्य सत्कारको उत्कृष्ट उदाहरण पेश गर्न सक्षम भएका छन्। विश्वका ठूला ठूला होटल अनि ब्राण्डेड रेष्टुरेण्टहरूतिर हाम्रो आतिथ्य सत्कार र संस्कार देखेर दुनियॉ नै चकित छन् अनि यस ब्यवसायमा हाम्रो ठूलो बजार र मांग छ ।
हाम्रो आफ्नै स्थानीय विकास संस्था जीटीएतिर पनि हाम्रा आफ्नै पहाड़ी क्षेत्रका बिशिष्ट बिज्ञ ब्यक्तिहरूलाई लिएर उनीहरूको आ-आफ्नो क्षेत्र सम्बन्धित बिषयहरूलाई समेटेर Expert Commitee वा Advisory Commitee गठन गरी यस दिशातर्फ कार्य गर्न सके निश्चय नै केही उत्साहजनक प्रतिफल निस्कने थियो ।
बिडम्वना यस्तो कि यस अघि हाम्रा जति पनि जनप्रतिनिधिहरू थिए चाहे एमपी होस् या एमएलए द्वारा ,पहाड़ अनि पहाड़बासीको विकासको निम्ति त्यस्तो ठोस कार्य भएको कतै देखिएन। फ़गत पहाड़बासी भारतको स्यवाधीनतापछि यतिणञ्जेलसम्म भोट म्यासीन सिवाय अरू केही भएनौं । हाम्रा जनप्रतिनिधिहरू पनि यस्ता थिए कि Zoological Park र University बीचमा केही एक चुन्न पर्ने ठाउँमा Zoological Park चुनि पठाए ।
तर यस्तो विषम र विकट परिस्थितिमा पनि दार्जीलिंग अनि दार्जीलिंगका सन्तानहरूले आफूलाई विश्वकै बिभिन्न क्षेत्र, platform र प्रतिस्पर्धामा उभ्याउन र सफलता हासिल गर्न भने कहिल्यै छोड़ेनन् ! भर्खरै हर्ष सेरिंगलाको सफलता र उपलब्धिले फेरि दार्जीलिंग पहाड़लाई गौरवान्वित तुल्याएको छ। अनि आजको युवा पीड़ीलाई हर्ष सेरिंगलाको सफलता र उपलब्धिले निश्चय नै ठूलो प्रेरणा दिलाउनेछ ।
राजनैतिक क्षेत्र र राजनैतिक उपलब्यधिमा शून्य रहेको अनि सदैव ठगिन्दै आएका हामी दार्जीलिंग पहाड़बासीलाई हाम्रा पहाड़का सपूतहरूले आ-आफ्नो ब्यक्तिगत हैसियतमा देश, जाति र दार्जीलिंग पहाड़बासीलाई गौरवान्वित गर्ने कार्य गरीरहेका छन अनि हामी धन्य छौं तिनै महाकाल बाबा र सिंचेलका सिंहदेवीप्रति जसको असीम कृपा र आशीर्वादले दार्जीलिंगको नामको सुवास विश्वमै फैलाईरहेका छन् ।
अब आशा गरौं हाम्रा आफ्नै गोर्खा पुत्र श्रीमान राजु बिष्टज्यू माथि जसले गोर्खाहरूको हितमा एक मसीहा भएर अघि आउनेछन् अनि हाम्रो आकांक्षा पूरा गर्न सफल हुनेछन् ।
[Writes: कोशराज गुरूंग, दार्जीलिंङ]
Be the first to comment on "दार्जीलिंग पहाड़को राजनैतिक परिप्रेक्ष्यमा – झारखण्ड चुनावको नतीजा बीजेपीलाई असल पाठ"