Intolerance (noun): unwillingness to accept views, beliefs, or behaviour that differ from one’s own
“दार्जिलिङ- शिष्टाचारको धनी ठाँऊ” भन्ने उक्ति सर्वविधित छ। कतिले नसुनेका पनि हुन सक्छ। तर मेरो ब्यक्तिगत अनुभवमा म पहाड बाहिर जहाँ जहाँ गएको छु थुप्रैको मुखबाट यो मीठो उक्ति सुनेको छु। हर्ष र गर्वले म त्यतिनै फुलिएको छु जतिपल्ट यो प्रशंसनिय शब्दहरू मेरो कानमा परेका छन्। धेरै धेरै चोटि।
अब यो भनाईको सान्दर्भिकतालाई धेरै आयाममा अनि धेरै परिप्रेक्ष्यमा लिन सकिन्छ। दार्जिलिङको इतिहासको जति श्रृंखलाबद्ध पन्ना पल्टाएता पनि जतिनै कालखण्डहरूलाई अवलोकन गरेता पनि हाम्रो सुन्दर दार्जिलिङको बारेमा नकरात्मक छवि पाउँदैनौ भन्दा दुईमत नहोला! दार्जिलिङ निश्चल छ। निश्कलंक छ। सन्दर्भ-जातिय भेदभावमा। सामुदायिक अराजकतामा। सामुदायिक हिंसामा।
८६ को आन्दोलन अर्कै कुरो हो। यो लेखसित सान्दर्भिक नभएको कुरो। यो आन्दोलन अधिकार हननको कुरो हो। शोषणको कुरो हो। गोर्खा जाति- बिहारी गोर्खा, मारवाडी गोर्खा, बंगाली गोर्खा पंजाबी गोर्खा अनि दार्जिलिङ तराई अनि डुवर्सको हिन्दु मुस्लिम बौद्ध धर्म सिक्ख ईसाई इत्यादि जाति माथि भएको असंवैधानिक अत्याचारको कुरो हो। संविधानको तहत प्रदान गरिएको प्रावधान- मौलिक अधिकार खोसिएको कुरो हो।

यसको यहाँ नालीबेली केलाउने आवश्यक्ता छैन।
दार्जिलिङको प्रशंसा
“दार्जिलिङको मान्छे साँच्चै सोझा विनम्र भद्र सभ्य र शिष्ट छन्। म त्यहाँ घुम्न जाँदा एउटा बाटोमा हिँडिरहेको मान्छेलाई ठेगाना सोधेको थिँए, मलाई त्यहीँ सम्मै पुर्याईदियो। म त अवाक बनेकी थिँए त्यस विनम्र मान्छे देखेर!” उपरोक्त प्रशंसा मेरो नेपालको साथीले मलाई भनेकी थिई सामयिक गफ- गाफमा।
यस्तो अवस्मरणिय घटना बाहिरको मानिसले मात्र नभएर हामी आफैले पनि अनुभव गर्न सकेका छौं सायद। मैले गरेको छु। वरिपरिका क्षेत्रिय ठाँऊहरूमा जाँदा। थाकेको बेला पानी मात्र हैन मीठो चिया पिलाएर अनजान मानिसलाई अतिथि सत्कार दिने संस्कार अनि संस्कृतिको धनी हाम्रो दार्जिलिङ।
नेपाली साहित्यको सेक्सपियर मानिने प्रख्यात नाटककार बालकृष्ण सम जसलाई “नाट्य शिरोमणि” उपाधिले पनि चिनिन्छ-ले भनेका थिए, “दार्जिलिङले आज जुन कुरो सोंच्दछ, काठमाण्डुले भोलि मात्र सोंच्दछ।” यस्तो दूरदर्शी हाम्रो दार्जिलिङ । यस्तो अग्रिम हाम्रो दार्जिलिङ ।
दार्जिलिङको भौगोलिक अनि प्राकृतिक सुन्दरता र यहाँका मानिसको बिषयमा कति विज्ञ-विद्वान र बिख्यात ब्यक्तित्वहरूले प्रशंसा गरेका छन् हिसाब किताब गर्दा सायद यो लेख नटुंगेला। यस्तो प्रसिद्ध छ हाम्रो दार्जिलिङ ।
विविधतामा एकता
भारत देश विश्वको एउटा विशाल लोकतान्त्रिक देश हो। यो महान देशको विविधतामा एकताको बखान बिश्वले गर्दछ। विविध जाति-समुदाय भाषा रितिथिति धर्म बिश्वास संस्कार र संस्कृतिको धनी भारत एउटै मूलमन्त्रले देशको अस्तित्व कायम राख्न सफल छ- विविधतामा एकता। यही मूलधारामा बगेर भारतीयहरू एक भई मेलमिलापमा देशको बिकाश अनि उन्नतीको भर्याङ चडेका हुन्। यही हिन्दू मुस्लिम बौद्ध सिख ईसाई मिलेर देशको स्वतन्त्रताको निम्ति लडेर अंग्रेजलाई लखेटाका हुन्।
यसै सन्दर्भमा अनि संक्षिप्तमा- गोर्खाल्याण्डको निम्ति ८६ सालको आन्दोलन देखि लिएर २००७ अनि २०१७ को गोर्खाल्याण्ड आन्दोलनमा पनि दार्जिलिङ तराई अनि डुवर्सको विभिन्न जाति समुदाय अनि विभिन्नै धर्मवालम्बीहरूको योगदान थियो। गोर्खाको साझा आकांक्षा गोर्खाल्याण्डको निम्ति गोर्खा बिहारी गोर्खा मारवाडी गोर्खा पंजाबी गोर्खा मुस्लिम ईसाई समुदाय बंगाली आदिवासी कोचे मोचे सडकमा उत्रिएका थिए।

एउटै धागोमा ऊनीएका रंगविरंगी माला झैं विभिन्न समुदायले ती आन्दोलनहरूमा तानाशाही सरकार बिरूद्ध एकताको बल प्रदर्शन गरेका हुन्। त्यस बखत नत बहुसंख्यकको मात्र स्वर्थ थियो न अल्पसंख्यकको मात्र स्वर्थ थियो। साझा स्वर्थको निम्ति हक अधिकारको लडाईमा होमिएका गोर्खाल्याण्ड प्रेमीहरू हुन्। बहुसंख्यक अनि अल्पसंख्यक विभिन्न समुदायका गोर्खाहरूले एकतामा शक्ति प्रदर्शन गरेका हुन्। यस्तो एकता छ दार्जिलिङेमा ।

मिलनसार दार्जिलिङ
विनम्रता दार्जिलिङको गहना हो भन्दा अत्युक्ति नहोला। हरेक कोही होस् आन्तरिक चरित्रमा फरक हुन सक्छ तर बोली वचन हावभाव सहयोगमा अगाडि छन्। सदभावनाले भरीपूर्ण छन्। अतिथि सत्कारमा अव्वल छन्।
सोझा मिलनसार दार्जिलिङमा विविध समुदायको विविध चाड पर्व अनि संस्कृतिको जुन उत्सुकता अनि सम्मानले आदान प्रदान हुन्छ सायद संसारको जुनै कुनामा खोजेता पनि नभेटाइएला। यस्तो मिलानसार छ हाम्रो दार्जिलिङ ।
दार्जिलिङको राजनीति अनि विवाद
दार्जिलिङको राजनीतिको अध्ययन अनि विश्लेषण गर्नु हो भने ८० को दशक पछिको राजनीति र त्यो भन्दा अघिको राजनीतिमा आकाश र पातालको फरक छन्। दार्जिलिङले राजनीतिमा फड्को मारेकै हो तर ठोस् उपलब्धि हासिल गर्न भने सफल भएको छैन। वर्तमान राजनीतिको उतार चडाव हाम्रै आँखा अगाडि छन्। यति हो वर्तमान समयमा गोर्खाल्याण्डको आवाज सारा राष्ट्रिय स्तरसम्म पुर्याउनुमा भने किञ्चित सफल भएको छ भन्नु पर्दछ। यधपि यसमा नेताहरू भन्दा पनि केही इमान्दार पत्रकार अनि जागरुक जनतालाई श्रेय दिनु उचित सम्झन्छु। नेताहरू (कोही बुझ्नुहोस्) त अपरिपक्व राजनीति अनि विवादित बयान दिनुमा ब्यस्त छन्। राजनीतिक स्टंट मार्फत चर्चामा आउने होडबाजीमा तल्लीन छन्। कोही साझा मुद्धालाई सम्झौता गरेर कुर्सीको प्रलोभनले अन्धो भएका छन्।
हालैमा जीजीएम अनित खेमाको श्रीमान रूदेन लेप्चाले पहाडको अल्पसंख्यक समुदाय मारवाडी माथि औंला उठाउँदै दिएको आश्चर्यजनक बयानले दार्जिलिङको जनता अवाक बनेका छन् । वहाँको बयान बिरूद्ध मारवाडी समुदायमा सिमित नभएर पहाडको जनताले घोर भत्सर्ना गरेका छन् ।
वहाँको बयान, “मारवाडीहरू कालेबुङमा व्यापार गर्न आएका हुन्, गरून् हाम्रो कुनै आपत्ति छैन तर गोर्खालाई दबाउने राजनीति नगरून् हामी सहने छैनौं। कालेबुङमा घोष र पप्पुहरूले गोर्खालाई अन्यायको राजनिती बन्द गरून्।”
You can watch the full video here: https://youtu.be/_Ue0YS-isrU
यथार्थमा यो असंवेदनशिल बयानले एउटा अरिपक्व राजनीतिको परिचय दिनुको साथै वहाँको संकुचित भावनाले ओतप्रोत अल्पसंख्यक माथि द्वेषपूर्ण वयान हो। वहाँको शब्दहरू सांप्रदायिक अराजकता फैलाउँने सानो आगोको झिल्को मात्र नभएर आगोको मुस्लो सरह नै छन् भन्दा फरक नपर्ला। वहाँले कस्तो परिस्थितिमा अनि राजनीतिक हिसाब किताबले बयानबाजी गरे त्यो वहाँकै समस्या हो। राजनीतिक एजेन्डा सोझ्याउने अथवा राजनीतिक फायदामा आधारित हुन सक्छ तर कुनै स्वर्थपूर्तिको निमित्त जनतामाझको ,समुदायहरू बिचको सद्भाव परस्पर प्रेम र विशेष शान्तिलाई भंग गर्ने यस्ता असंवेदनशिल बयानले भने अराजकता नै निम्त्याउँछ।
दार्जिलिङको राजनीतिक इतिहासमा नेताहरूले कुनै समुदाय विशेष बिरूद्ध यस्तो आपत्तिजनक अनि निन्दनीय बयान अथवा टीका टिप्पणी गरेका शायदै पाउँछौं। राजनीतिमा भनाभैरी खिचातानी बैरित्व अपवाद विवाद स्वभाविक र सामान्य कुरा हुन् तर समुदायहरू बिच साँडे जुधाई उस्काउने वयानले बयानबाजी गर्ने नेताहरूको कमजोरी अथवा राजनीतिक निराशा झल्काउँदछ।
बर्तमान समयको जनता आधुनिक अग्रिम सोंच भएका बाठा जनता छन्। कालो र सेतो निर्क्यौल गर्ने सक्ने बुद्धमानि जनताले संयम अनि गंभीरतामा समय अनुसार नेताहरूलाई “ब्यालट बक्स” मार्फत जवाब दिएका प्रसस्तै उदाहरणहरू छन्। जनताको शक्तिलाई नजर अन्दाज गर्ने नेताहरू अनि राजनीतिक पार्टीहरू चाहिँ जनताको हितमा कार्य नगरेर जातिय दंगा भडकाउने बयानबाजीमै सिमित रहने हो भने “हाम्रो दार्जिलिङ” सांप्रदायिक अस्थिरताको आगोले भस्म हुनु बेर छैन।
बुद्धिको ढकनी खोलौं…!!!

[Writes: Sudarshan Limbu]
Be the first to comment on "Intolerance: असंवेदनशिल रूदेन लेप्चाको असंवेदनशिल बयान"