NAR BAHADUR BHANDARI: “नेपाली भाषा आन्दोलनका अग्रणी सेनापति अनि भारतीय नेपाली भाषी गोर्खाहरूका अभिभावक अजेय नरबहादुर भण्डारी”

Nar Bahadur Bhandari

Here’s a tribute to Late. Nar Bahadur Bhandari, former Chief Minister of Sikkim who played a pivotal role in getting Nepali language recognized as one of the 22 national languages of India, recognized under the VIIIth Schedule of our constitution by our contributor Shri. Koshraj Gurung.

भारत जस्तो विशाल गणतांत्रिक देशमा आफूहरू अल्पसंख्यक भएर सदैव असुरक्षित महसूस गरीरहेका भारतका नेपालीभाषी गोर्खाहरू आफैलाई हामी भारतीय र भारतका खॉटी नागरिक हौं भन्ने ठोस प्रमाणहरू दिलाउनको निम्ति संघर्षशील रहेको समय श्री नर बहादुर भण्डारी गणतंत्र भारतको  पहिलो नेपाली भाषी मुख्यमंत्रीको रूपमा निर्वाचित हुनु  भारतमा नेपाली भाषीहरूको नागरिकता र अस्तित्वमाथि शंका गर्नेहरूको निम्ति एउटा गतिलै जवाब थियो।

भारत स्वतंत्रपछि गठन भएको राज्य पुनर्गठन आयोग र भारतमा भाषाकै आधारमा गठन भएको राज्यहरूले त्यस राज्यका नागरिकहरूको खॉटी भारतीय नागरिकता र परिचय दिलाउने हुनाले भारतमा रहेका सचेत नेपाली भाषीहरू नेपाली भाषालाई भारतको आठौं अनुसूचिमा अन्तर्भुक्तको निम्ति सर्व भारतीय स्तरमा  अखिल  भारतीय नेपाली भाषा समितिको गठन गरी भाषा मान्यताको निम्ति संघर्षरत थिए। साल १९७५ मा सिक्किमको भारतमा २२औं राज्यको रूपमा विलय र १९७७-७८ सालमा श्री  नर बहादुर भण्डारी भारत गण राज्यको पहिलो नेपाली मुख्यमंत्रीको रूपमा चुनिनु विश्वकै नेपाली भाषीहरूको निम्ति गर्वको कुरो थियो।

आफू राजनेता मात्र नभएर नेपाली साहित्य र सृजनाका सर्जक  पनि रहेका श्री नर बहादुर भण्डारीले आफ्नो मुख्य मंत्रीत्वकालमा नेपाली भाषा मान्यताको निम्ति भारतीय नेपाली राष्ट्रीय परिषदको गठन गरी अनि स्वयं यसको कमान आफ्नो हातमा लिएर छोटो  समय अवधिभित्र भारतीय नेपाली भाषीहरूको निम्ति ऐतिहासिक उपलब्धि हासिल गर्न सक्षम बने। भारतीय नेपाली राष्ट्रिय परिषदको गठनपछि  भाषा मान्यताको निम्ति मुख्य मंत्रीद्वारा बनाएको रण-कौशल र  आफ्नो  सरकारी तंत्रहरू समेत प्रयोग गरी भाषा मान्यताको निम्ति चलाइएका कदमहरूप्रति यस संगठन र आन्दोलनसित जड़ित नेपाली भाषी बिशिष्ट  संग्रामी योद्धाहरूले ख़ूबै रोचक ढंगमा आफ्नो अनुभवहरू बिभिन्न लेख र माध्यमहरूद्वारा बॉड़ेका छन। 


१९७८ सालमा भारतको  तत्कालीन प्रधानमंत्री  मोराराजी देशाईले नेपाली भाषा विदेशी भाषा हो भनेर खुल्ला रूपमा नेपाली भाषा मान्यताको अस्वीकार गरेपछि केही निराश र हताश रहेका नेपाली भाषा समितिका आन्दोलनकारीहरू भाषा मान्यताको आन्दोलनलाई निश्कर्षमा पुर्याएरै छोड़ने दृढ़ प्रतिज्ञामा थिए अनि यस भाषा मान्यताको आन्दोलनलाई राज्यको मुख्यमंत्री स्वयंले आफ्नो कमानमा लिएर लक्ष्य हासिल गर्दा सम्पूर्ण नेपाली भाषीहरू प्रफुल्लित र गर्वित बन्नु स्वभाविकै थियो, त्यसैले सबैले यसको श्रेय भण्डारी दम्पतिलाई दिनको निम्ति अलिकति पनि हिच्किच्याएनन्। 

राजनीतिमा राजनैतिक इच्छा शक्तिको महत्व कति ठूलो हुँदो रहेछ यो कुरो नर बहादुर भण्डारीको राजनैतिक जीवनबाट सिक्न सकिन्छ। आफ्नो मुख्य मंत्रीत्वकालमा सिक्किमका कुना काप्चा, गाउँ गाउँ घुमेर नेपाली भाषा मान्यताको बिषय र महत्वबारे आफ्नो सम्बोधनको क्रममा यसरी सरल रूपमा बुझाउने गर्दथे

“…….. हामीले नेपाली भाषा मान्यताको निम्ति काम गर्दैछौं, नेपाली भाषाले भारतको संविधानमा मान्यता पाएको खण्डमा तपाईहरूको समस्याहरू केन्द्रको सरकार समक्ष पुर्याउन सजिलो हुन्छ, भाषाले मान्यता पाएको खण्डमा तपाईहरूको समस्या नेपाली भाषामै राख्न सकिन्छ जहॉ सरकारले हामीले बोलेको भाषालाई दुरुस्त रूपमा सरकार कहॉ पुर्याउन र बुझाउनको निम्ति अनुवादकहरू राख्ने गर्छन।”

भारतको केन्द्र सरकार पनि नर बहादुर भण्डारीसंग डराउने गर्थे

सजिलो थिएन नर बहादुर भण्डारीलाई सर्व भारतीय स्तरमा नेपाली भाषा मान्यताको निम्ति  नेतृत्व गर्न अनि तिनी जान्दथे यस कार्यले तिनको विरोधीहरूद्वारा नाना थरीका आरोपहरू लगाएर तिनलाई सत्ताच्यूत पनि गर्न सक्छन् भनेर तर त्यसको किण्चित  पर्वाह नगरी  तिनी आफ्नो कार्यमा डटीरहे जसको फलस्वरूप १९९२ सालमा भारतको संसदद्वारा नेपाली भाषालाई संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त गर्न कर लाग्यो अनि नभन्दै नर बहादुर भण्डारी १९९४ को बिधान सभा चुनाउमा अल्पमतमा रहेर सत्ता पनि गुमाउनु पर्यो ।  राज सत्ता र लोलुपता  समयको चलखेलभित्र बॉच्ने सुखका क्षणिक पलहरू  मात्रै हुन अनि यो दिगो रहन सक्दैन तर यसको सदुपयोग गरेर जन कल्याण र जन हितको निम्ति गरिने वा खर्चिने सुकार्यले भने यस्ता राजनेताहरू जनताको ह्रदयमा युगौं युगौंसम्म बॉचीरहनेछन अनि  नर बहादुर भण्डारीहरू यस्तै राजनेताको रूपमा हजारौं सालसम्म जीवित भएर बॉचीरहनेछन।

SEE ALSO:  Brian Houghton Hodgson - Ornithologist Who Documented Darjeeling Birds

आधुनिक सिक्किमका  निर्माता यशस्वी श्री नर बहादुर भण्डारी जब सिक्किमका मुख्य मंत्री बने त्यस समय सिक्किम भारतमा विलय भएको केवल दुई बर्ष मात्र पुगेको र यो अत्यन्त कलिलो राज्य भएको नाताले  तिनका  अघि अनेकौं  चुनौतीहरू  थिए। भौगोलिक, भौतिक विकासदेखि लिएर, सिक्किमको संरचनात्मक विकास, शैक्षिक विकासहरू  यस्ता धेरै चुनौतिहरू थिए तर एक कुशल प्रशासकको परिचय दिंदै नर बहादुर भण्डारीले छोटो अवधिमा नै सिक्किमको कॉचुली फेर्ने काम गरे। शिक्षाको धरातललाई बलियो बनाउने उद्धेश्यले त्यस समय   दार्जीलिंग, कालेबुंग लगायत भारतका बिभिन्न राज्यहरूबाट कन्ट्र्याक्च्युएल आधारमा शिक्षक नियुक्तिको प्रक्रिया  सम्पूर्ण भारतबर्षमा नै नयॉ मोडल थियो जसको चारैतिर बाट प्रशंसा भएको थियो। 

भनिन्छ नर बहादुर भण्डारीको पहिलो शासनकालमा नै सिक्किमले रात दुई गुणी दिन चौगुनी विकास गर्दै गएपछि, सिक्किम विकासको मोडलले नै प्रभावित भएर यता टिस्टा पारी अलग राज्य गोर्खाल्याण्डको  मॉगले तीब्रता पायो। सिक्किमका सुदूर गाउँ बस्तीतिर सड़कहरू पुर्याउने योजना अन्तर्गत सड़कहरूको निर्माण, घर घरमा पानीका नलहरूको जड़ान, बिजुली बत्तीको ब्यवस्था, प्राथमिक तहदेखि उच्च् विध्लयालयहरूको स्थापना, सिक्किमका बिध्यार्थीहरूको उच्च शिक्षाको निम्ति देशका बिभिन्न प्रतिष्ठित शैक्षिक संस्थानहरूतिर सीट आरक्षणहरूदेखि लिएर सिक्किमका सबै  बुनियादी ढॉचाहरू  तयार पार्न निरन्तर खटीरहे। सॉचो अर्थमा भन्नु  हो भने तिनी एक दूरदर्शी अनि सॉचो सिक्किम पुत्र थिए जसले भावी पीड़ीहरूको निम्ति चाहिने सम्पूर्ण पूर्वाधारहरू अघिबाटै तयार पारेर राखीदिएका थिए।

एक आकर्षक ब्यक्तित्वका धनी झलक्क हेर्दा कुनै करपोरेटका सीईओ झैं देखिने  नर बहादुर भण्डारी जहिले पनि थ्री पीस सुटको पहिरनमा रहेर मुख्य मंत्रीको  ओहोदा अनि मुख्य मंत्रीको कार्यालयको गरिमालाई थप शोभा प्रदान गरेको भान हुँदथ्यो । 

सिक्किमको भारतमा बिलयप्रति बिरोधाभास मन्तब्य पोखीरहने श्री नर बहादुर भण्डारीले भारतको केन्द्र सरकारलाई हल्लाएरै राखेका थिए अनि यसो गर्नुमा सिक्किम राज्य र सिक्किमबासीको हित र भलोकै निम्ति थियो। नर बहादुर भण्डारीका यस्ता बिरोधाभास वक्तव्य र मनतब्य कै कारण तत्कालीन केन्द्र सरकारद्वारा पूर्ण बहुमतको सरकारलाई बिभिन्न झुटो अनि निराधार आरोपहरू लगाएर दुई  दुई पल्ट  बर्खास्त गर्ने काम पनि भयो तर प्रत्येक चुनाउमा आफ्नो जनाधार र लोकप्रियताको परिचय दिंदै नर बहादुर भण्डारी १५ साल सम्म सिक्किमका मुख्यमंत्री बनी रहे।

SEE ALSO:  “Born in Nepal” jibe gets the hill politicians railed up - “Statement only for two specific individuals” says Ahluwalia

१९८६ को गोरखाल्याण्ड आन्दोलनको महत्वबारे तत्कालीन प्रधानमंत्री स्व० राजीव गांधीलाई बुझाउनु सक्ने र श्री नर बहादुर भण्डारी कै तत्परतामा गोर्खा राष्ट्रीय मुक्ति मोर्चा सुप्रीमो सुबास घिसिंग, भारतको  केन्द्र सरकार र पश्चिम बंगाल सरकार बीच चाप  सृष्टि गरी कैयौंपल्ट वार्ताको  टेबलमा ल्याउन सक्षम बने। १९८६ को गोर्खाल्याण्ड आन्दोलनलाई श्री नर बहादुर भण्डारीको मुख्यमंत्रीत्वकालमा सिक्किमले पुर्याएको सहयोग र गुणलाई गोर्खाल्याण्डप्रेमी दार्जीलिंगको जनताले कहिल्यै बिर्सन सक्तैन। १९८६ मा गोर्खाल्याण्डको आन्दोलन दार्जीलिंग गोर्खा पार्बत्य परिषदमा पुगेर टुँगियो तर श्री नर बहादुर भण्डारी सन्तुष्ट थिएनन। 

यदि भाषा मान्यताको सफलतापछि नर बहादुर भण्डारीको मुख्यमंत्रीको कुर्सी रही रहँदो हुँदो हो त, शायद डेढ़ करोड़ भारतीय गोर्खाहरूको स्व- अस्तित्व, चिनारी र बासको समस्याको हल यतिण्जेलसम्म भईसकेको हुने थियो कि!!! 

१९९२ मा भाषा मान्यताको निम्ति भण्डारी दम्पतिद्वारा चालिएको क़दम र सम्पूर्ण सरकारी तंत्रहरूलाई नै ताकमा राखेर चालिएको रणनीति सफल भएपछि भारतको डेढ़ करोड़ गोर्खाहरूको ध्यान बिशेष गरी सिक्किमतिर पर्न थाल्यो। जुन बेला नर बहादुर भण्डारी सिक्किमका मुख्यमंत्री बने त्यस समय सिक्किम राज्य भारतको सबैभन्दा कान्छो राज्यको रूपमा चिनिन्थ्यो।  भारतमा नेपाली भाषी बाहुल्य राज्य र यसको मुख्यमंत्री पनि नेपाली भाषी नै रहेकोले साथै छिमेकी राष्ट्रद्वारा सिक्किमको भारतमा विलयप्रति आपत्ति अनि यसको संवेदनशील भौगोलिक परिदृष्टिले पनि महत्वपूर्ण रहेकोले सिक्किमको बोलबाला भारतको केन्द्र सरकारले सुन्ने हुनाले भारतीय नेपाली भाषीहरूले सिक्किम अनि सिक्किमका मुख्यमंत्रीप्रति आस्था राख्नु स्वभाविकै हो । 

एउटा  सिंगो देश सिक्किम आफ्नो अस्तित्व गुमाउँदै राज्यमा परिणत भएपछि सिक्किम बिलयको प्रक्रिया र परिपाटीसंग सहमत नभएका नर बहादुर भण्डारी देश द्रोहको आरोपमा समेत पक्रा परेर केन्द्रीय कारावाससम्म पुगेका थिए। नर बहादुर भण्डारीका यस्ता बिरोधाभास प्रक्रिया अनि भारतको केन्द्र सरकारलाई लाखेस गर्ने र तिनका जुझारू प्रवृति अनि कार्यकलापहरूको कारणले भारतको केन्द्र सरकार पनि नर बहादुर भण्डारीसंग डराउने गर्थे अनि नर बहादुर भण्डारीद्वारा उठाइएका मुद्धाहरू साथै नर बहादुर भण्डारीलाई  धेरै गम्भीरताको साथ  लिने गर्थे। त्यसैले सिक्किम  सरकारले भारत सरकार समक्ष सिक्किम  र सिक्किमेली जनताको हितमा जे जस्ता मॉगहरू  राख्न सके भारतको केन्द्र सरकारद्वारा प्राय: जसो मॉगहरूलाई गम्भीरताको साथ लिई यसको समाधानको सूत्रहरू निकालने प्रयास गरी नै रहे चाहे १९८६ को गोर्खाल्याण्ड आन्दोलनको गम्भीरता बारे  भारतको तत्कालीन प्रधानमंत्री स्व० राजीव  गांधीलाई बुझाएर झट्ट गोर्खाल्याण्ड आन्दोलनकारी नेतृत्वहरूलाई वार्ताको टेबलमा बोलाउने पहल होस् या नेपाली भाषालाई संबिधानको आठौं अनुसूचिमा अन्तरभुक्त गरिने महत कार्य होस् या सिक्किम र सिक्किमेली सम्बन्धित कुनै पनि कार्य होस् , प्राय सबै कार्यहरू फत्ते गर्न सक्षम भए।

SEE ALSO:  EXCLUSIVE: Supreme Court Incensed at West Bengal Government Counsel in Bimal Gurung Case - Hearing Adjourned to January 2nd Week

नेपाली भाषाले भारतको संविधानको आठौं अनुसूचिमा मान्यता पाए पछि सँधै २० अगस्टलाई भाषा दिवस मनाउने  नेपाली भाषी भारतीयहरूलाई  नर बहादुर भण्डारी स्वयं ३० अगष्ट १९९२ को दिन भारतको महामहिम राष्ट्रपतिद्वारा हस्ताक्षरित भएको सरकारी घोषणाको दिनलाई भाषा मान्यता दिवस पालन गर्ने सुझाव दिन्थे तर नर बहादुर भण्डारीको कुशल नेतृत्व, रण कौशल अनि तिनका धर्म पत्नी श्रीमती दिल कुमारी भण्डारीको निरन्तर प्रयासमा संसदमा उठाइएका प्रयास  मार्फ़त २० अगष्ट १९९२ को दिन भारतको सांसदले नेपाली भाषालाई भारतको आठौं अनुसूचिमा अन्तर्भुक्त गर्ने अनुमोदन  गरेको दिनलाई  भण्डारी दम्पत्तिको योगदानलाई सराहना गर्दै २० अगष्ट भाषा मान्यता दिवसको रूपमा पालन गरिने गरिन्छ।

नर बहादुर भण्डारी बितेर गए एउटा इतिहास पुरूष बनेर तर नर बहादुर भण्डारीले भारतीय  नेपाली  भाषीहरूलाई  लगाएर गएको  गुण भारतमा एउटै मात्र नेपाली भाषी जीवित रहुण्जेल  पनि भुल्ने छैनन्।

Bhasa Andolan Mirik
Those who fought selflessly to establish Nepali as one of the National Languages of India

१९८६ को गोर्खाल्याण्ड आन्दोलनलाई आफ्नो पक्षबाट भौतिक, नैतिक अनि भरपूर राजनैतिक सहयोग दिलाए ता पनि गोर्खाहरूको अलग राज्य गोर्खाल्याण्ड  निर्माण हुन नसकेकोमा ठूलो विस्मात मान्ने र सदैव विचलित रहने श्री नर बहादुर भण्डारी सम्पूर्ण भारतीय गोर्खाहरूका अभिभावक थिए। यो त हामी भारतीय गोर्खाहरूको निम्ति ठूलो बिडम्वना नै हो कि १९९२ मा नेपाली भाषा मान्यता प्राप्तिको लगत्तै पछि श्री  नर बहादुर भण्डारी १९९४ को बिधान सभा चुनाव पश्चात सत्ताच्यूत हुनु अनि भारतीय गोर्खाहरूको बासभूमिबारे निस्वार्थ र इमान्दारीका साथ भारतको केन्द्र सरकार समक्ष पहल गराउन सक्ने गोर्खाहरूको एक अभिभावक सत्तादेखि बाहिरिएपछि नर बहादुर भण्डारी राजनैतिक रूपमा बिस्तारै शक्तिहीन हुँदै गए तर गोर्खाल्याण्ड पक्षधर र आन्दोलनकारीहरूलाई हौसला  दिन भने कहिल्यै छोड़ेनन्। 

आफ्नो जीवनकालमा भारतीय गोर्खाहरूको निम्ति अलग राज्य गोर्खाल्याणंड भएको देखेर मात्र मर्ने इच्छा राखेका श्री नर बहादुर भण्डारी २००७ पछि प्रत्येक पल्ट उठेको अलग राज्य गोर्खाल्याण्डको माँग र आन्दोलनलाई नैतिक समर्थन र सहयोग पुर्याई नै रहे, यहॉसम्म कि उनको मृत्युकालमा जून २०१७ मा बौंरी उठेको गोर्खाल्याण्ड आन्दोलनको समय पनि ” . . . . . .  . . यस पाली चैं पक्कै गोर्खाल्याण्ड हुनेछ”  भन्दै  आफैमा आश्वास्त हुँदै १६ जुलाई २०१७ को दिन यिनै भारतीय गोर्खाहरूको अभिभावक भारतमा गोर्खाहरूको अलग राज्यको सपना सजाऊँदै चिर निंद्रामा बिलीन भए।

Nar Bahadur Bhandari
File Pic: Nar Bahadur Bhandari felicitated by Gorkhaland Territorial Administration on behalf of the people from Darjeeling

1 Comment on "NAR BAHADUR BHANDARI: “नेपाली भाषा आन्दोलनका अग्रणी सेनापति अनि भारतीय नेपाली भाषी गोर्खाहरूका अभिभावक अजेय नरबहादुर भण्डारी”"

  1. जतिदिनसम्म नेपाली भाषा भारतमा बोलिन्छ स्व नरबहादुर भण्डारी भाषा सितै बाचिरहेको हुनेछ.

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.