राँची बाट दार्जिलिङको गोर्खालाई एउटा संदेश

Ranchi राँची गोर्खाराँची गोर्खा Demonstrating for Gorkhaland

आदरणीय दार्जिलिङ, डुवर्स अनि तराईवासी गोर्खा संतान, राँची गोर्खा संतानबाट गोर्खे अभिवादन!

समाचारपत्र अनि सामाजिक संजाल मार्फत सुन्दै छौं कि यसपालि जीटीए II को मनोनीत अध्यक्ष विनय तामाङ अनि मनोनीत उपाध्यक्ष अनित थापा ज्यूले यस लोकसभा चुनावमा दार्जिलिङ लोकसभा क्षेत्र अनि अन्य लोकसभा क्षेत्र जहाँ गोर्खाहरू बस्छन् बाट ममता दिदीलाई संगाउने निर्णय लिएको छ रे। यस निर्णय लिने कारण पनि थाहा भयो कि वर्ष 2009 अनि 2015 मा पहाड़ अनि डुवर्स र तराईवासी गोर्खाले भाजपा प्रार्थीलाई अपार मत दिएर जिताए पनि पटक पटक भाजपाले गोर्खालाई धोका दिएको उल्लेख गरिएको रहेछ। यो सत्य हो कि माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो लोकसभा चुनावको प्रचारको समय सिलिगुडीमा आफ्नो जनसभालाई सम्बोधन गर्दै “गोर्खाहरुको सपना मेरो सपना” भनेको हो। फेरि पछि चुनाव जितेर प्रधानमन्त्री बनिसके पछि पनि गोर्खाहरूको ११ उपजातिलाई अनुसूचित जनजातिमा सामेल गराउने बाचा अनि एउटा केन्द्रीय विश्वविद्यालय दार्जिलिंगलाई दिने वाचा गरेको हो। आज आफ्नो कार्यकाल पुरा हुँदा सम्म पनि प्रधानमन्त्री महोदयले आफ्नो वाचा पुरा नगर्नु दुखद हो अनि भाजपाको गोर्खाहरू प्रति इमानदारिता पनि झल्कन्छ।

तर गोर्खाल्याण्ड दिन्छु भनेर नदिने भाजपालाई छोडेर गोर्खाल्याण्ड दिँदै दिन्न भन्ने तृणमूललाई जिताउन कतिको बुद्धिमानी हो र ? गोर्खा जाति र गोर्खाल्याण्ड शब्द संग घृणा गर्ने तृणमूल नै बीजेपी को अंतिम अनि सही विकल्प हो र ?

दिदीको “फूटाउ अनि राज गर” रणनीतिको शिकार भएको जस्तो लाग्छ हजुरहरू। बंगालको अन्य भागहरू जानुहोस् गरीबी त्यहाँ पनि छ, तर दिदीले किन बन्धोपाध्य, चटोपाध्य अनि घोष वोर्डको गठन गर्दैन। किन समग्र बंगाल र बंगाली समुदायको उत्थानको कुरा गर्छ। के दिदीले पहाड़ र पहाड़ी जनतालाई मात्र माया गर्छ। उसको मनमा के बंगाली समुदाय प्रति माया छैन र ? किन हाम्रो गोर्खालाई मात्र जात जातमा बाड्ने काम गरेको। किन कि सिंगो गोर्खा जातिलाई बिग्रेड मैदानमा नचाउने क्षमता थिएन दिदी संग, यसैले खस र खम्बुलाई अलग, भूजेल र लेप्चालाई अलग नचाए। अहिले घरि दार्जिलिङ पहाड़ आउँदा पहाड़को बाटोहरूमा सार्की, खस, खम्बु, नेवार, भूजेल, तामाङ अलग अलग भएर मुख्यमंत्री महोदयालाई स्वागत गर्नु हुँदो रहेछ। दार्जिलिङको पहाड़मा गोर्खा बस्दैन आजकल, यही वोर्डमा दिदीले बाँटि दिएको उपजातिहरू बाँच्छ।

SEE ALSO:  Culture of Peace Research Support: How important is this for us and our narrative?

हाम्रो राँचीमा हजुरहरू जति शिक्षित गोर्खा छैन् होला अनि संख्या बलमा पनि कम छौँ तर हाम्रोमा गोर्खा मेला हुन्छ न कि हजुरहरू जस्तो खस, खम्बु अनि तामाङको अलग मेला। हाम्रो पनि लोहासार, साकेला, संसारी पुजा हुन्छ तर साथमा मनाउँछौ। गरीब र गरीबी हाम्रो राँचीको गोर्खा पनि छ तर आपसमा सहयोग गरेर रमाँउछौ।।।।

एउटा कथा राँचीमा निकै प्रचलित छ, सुनि राख्नु होस।

उहिले कुनै ठाउँमा एउटा कुख्यात अनि कुटिल समता देवी नामको डैकेतनी थियो रे। बेलुकी भए पछि गाँउमा गएर लूटपाट गर्ने। कसैले विरोध गरे या हक खोजे गोली हानी निर्ममतापूर्वक ज्यानै मार्नै। राती लूटेको सामान बेचेर ज्यादा पैसा आफै र आफ्नोहरू लाई दिएर बाँचेको अलिकति पैसा बिहान भए पछि त्यही गाँउमा गएर तिमीहरूलाई डाकुले लूटे छ भन्दै बाड्ने ढोंग गर्थ्यो रे। यसरी गाउँले को नजरमा आफूलाई भगवान र देवीको रूपमा देखाउँथ्यो रे। सोझो र सीधा गाउँलेले देवी नै मान्थ्यो रे।

कथा यसै कारण सुनाएको भोलि बीर बलभद्र, अमर थापा अनि स्वतंत्र सेनानी अमर शहीद मेजर दुर्गा मल्लको संतान माथि बंगाल सरकारले विभिन्न वोर्ड मार्फत दिएको नीलो, रातो, हरियो र पहेंलो टीनको छाना भएको सानो कोठाको निम्ति गोर्खाल्याण्ड बेच्यौ भनेको आरोप नलागोस।

लोकसभा चुनाव प्रजातन्त्रको उत्सव हो भने मताधिकार हजुरहरूको अधिकार। चाहे गोर्खाल्याण्ड आज होस या भोलि तर भोट यस्तो प्रार्थीलाई दिनुहोस् कि जसले भोलि गएर संसदमा “गोर्खाल्याण्ड हाम्रो जन्मसिद्ध अधिकार हो” भनेर सारा गोर्खाको आवाज बुलंद गरोस। यो लोकसभा चुनावमा यस्तो नहोस कि गोर्खालाई गोर्खाल्यान्ड होइन विकासको नाममा जातिलाई जातमा बाड्ने वोर्ड मात्र चाहिएको रहेछ भनी दुनियाँले सम्झोस।

यसैले सोध्नु मन लाग्यो!

गोर्खाल्याण्डको निम्ति 105 दिन बंद बिर्स्यो कि ? यो बंदमा भोक भोकै बसेको बिर्स्यो कि ? हजुरहरु भोको छ भन्दा सारा विश्वको गोर्खाले सहयोग गरेको बिर्स्यो कि ? गोर्खाल्यान्ड माग्ने ती 14 निर्दोष गोर्खा संतानलाई गोली हानी निर्ममतापूर्वक मारेको बिर्स्यो कि ? सारा विश्वको गोर्खा दुनियाँको हर देशमा तिमी संग एक दिन, एकै समय “गोर्खाल्याण्ड” को गगनचुम्बी आवाजको साथ कदमताल गरेको बिर्सेयो कि ?

SEE ALSO:  Kamala Chettri - A Model Nurse

जय गोर्खा!!!

Author: बिमल थुलुङ from Ranchi


2 Comments on "राँची बाट दार्जिलिङको गोर्खालाई एउटा संदेश"

  1. धेरै राम्रो स्नदेस जो प्रत्येक गोर्खाले बुज्न पर्छ।हजुरको यो सानो लेख बुझे जातिको हित हुनमा अहम भुमिका निर्वाह गर्नेछ।

  2. manprasad subba | January 29, 2019 at 3:12 PM | Reply

    राँचीको गोर्खे सन्देश सुन्नसक्ने संवेदनशीलता बङ्गालको बगलीमा बन्धक परेका गोर्खाहरूमा कहाँ छ र! हुगलीको गन्ध आउँछ अचेल बालासन खोलामा। गोर्खाल्यान्डको जरा इस्कुसको जरा भएर अचेल कलकत्ताको सब्जीमन्डीमा बिक्री हुने गर्छ।

Leave a comment

Your email address will not be published.


*