पर्यटन महोत्सव शहिदहरुलाई श्रद्धाञ्जली?


लेखक: बिशन राई, दार्जिलिङ

अर्काको निम्ति संसार जित्ने गोर्खाहरुको आफ्नै निम्ति लडेको गोर्खाल्यान्डको अन्तिम लडाइँमा ऐतिहासिक हार भए पछि आज गोर्खाल्यान्ड बिरोधिहरुले पर्यटन महोत्सव मनाएर दार्जिलिङ पहाडमा खुशी व्यक्त गरिरहेका छन् ।

गोर्खाहरु वीर हुन्छन् भनी संसारले मानेको छ र हामी वास्तव मै वीर छौं। बस हामीलाई सही नेतृत्व चाहिन्छ। हाम्रा पिता पुर्खाहरुले बिगतमा धेरै नाम कमाए किन भने उनीहरुले एक सफल, योग्य व्यक्तिको नेतृत्वमा लडाइँ लडेका थिए। अंग्रेजहरुले गोर्खालाई अघि लगाएर नै अनेकौं मुलुकहरु जितेका थिए। यसैले आज पनि ब्रटिशहरुले गोर्खाहरुलाई सेनामा राखेका छन्। हिट्लरले त्यसै “यदि म सँग गोर्खा सैनिक भएको भए म संसार जित्ने थिएँ” भनेर भनेका होइनन्। भारतीय सेनाका सर्वोच्च पदाधिकारी फिल्ड मार्शल शाम मानेकशाले भनेका छन् “यदि कसैले मलाई मर्न देखि डर लाग्दैन भनेर भन्छ भने कि त उसले झुठ बोलेको हुनु पर्छ कि त उ गोर्खा हुनु पर्छ”।

हिटलर र मानेकशाको भनाइमा फुरुक्क भएर आज पनि बुरुक्क उफ्रन्छौं हामी, आफुलाई वीरको उपाधी दिँदै। तर यसपालिको गोर्खाल्यान्ड आन्दोलनमा हाम्रो भुमिका हेर्दा हाम्रो वीरता होइन, हाम्रो मुर्खता देखेर मानेकशाले त्यसो भनेका थिए कि जस्तो लाग्छ मलाई। अर्काको निम्ति हामी जे पनि गर्न सक्छौं, अर्काको निम्ति भने पछि हामी मार्छौं पनि मर्छौं पनि। तर जब आफ्नो हकको निम्ति लड्न पर्छ तब हामी आपस मै राणा बिनाको मौरी जस्तै हुन्छौं। हामी अर्काको नेतृत्वमा बखुबी कौशलता पुर्वक लड्न सक्छौं, इमानदारी पुर्वक काम गर्न सक्छौं, संसार जित्न सक्छौं। यसैले आज पनि हामी वीर, इमान्दार कहलाइन्छौं। तर आज हामी आफ्नै आँगनमा आफ्नै हकको निम्ति आफैले नेतृत्व गर्नु पर्दा कायर अनि गद्दार भइ दुनियाँ हँसाउछौं। गोर्खाल्यान्डको लडाइँमा सारा संसारमा गद्दार भनी आफ्नो पहिचान दिए पछि अझै हामी पर्यटन महोत्सव मनाएर दुनियाँ हँसाउदै छौं। १३ जना दाजुभाइहरुलाई शहिद बनाएर आज ६ महीना नपुग्दै खुशी मनाउँदै नाच्ने हामी भन्दा पट मूर्ख, गद्दार, बैगुणी, स्वार्थी जाति अरु कुन होला र? जसले गोर्खाल्यान्डको निम्ति आफ्नो ज्यानको बलिदान दिए, ती शहिदहरुका घर परिवारको अवस्था आज के होला? ससाना बालबालिकाहरु टुहुरा टुहुरी भएका छन् , वृद्ध माता पिताको बुढेसकालमा सहारा दिने लठ्ठी भाँचिएको छ, अबला नारीको सिउँदो पुछिएको छ, सयौं घाइते भएर आज पनि अस्पतालमा उपचाराधीन छन्। यस्तोमा पर्यटन महोत्सव मनाएर आफ्नैहरुको घाउमा नुन छर्किने हामी वीर होइनौं कायर हौं , इमानदार होइनौं गद्दार हौं।

SEE ALSO:  The Awesome Charms of that Typical Darjeeling Gorkhey Style Wedding

पर्यटन महोत्सव गोर्खाल्यान्ड आन्दोलनलाई निष्क्रिय पार्ने अर्को षडयन्त्र मात्र हो। यो महोत्सव मनाएर गद्दार नेताहरुको जनतालाई गोर्खाल्यान्ड बिर्साउने कोशिश मात्र हो। आज दार्जिलिङ पहाड पुर्ण रुपले नवान्नबाट संचालन भइ रहेको छ जसको कठ्पुतली दार्जिलिङको लालकोठीमा बिराजमान भएर बसेका छन्। नाना थरीका विकासको प्रलोभन र यस प्रकारको महोत्सवहरु पहाडमा आयोजन गरेर पश्चिम बंगाल सरकार हाम्रो ध्यानाकर्षण गोर्खाल्यान्ड देखि अन्तै गर्न चाहन्छ। आज विभिन्न प्रकारको विकास योजनाको नाममा बंगालले पहाडमा पैसाको खोला बगाएर गद्दारहरुलाई किन्दैछ। भोलि फेरि त्यही पैसाको हिसाब खोजेर गद्दारहरुको घाँटी अँठ्याउछ। यो बंगाल सरकारको पुरानो चाल हो। दागोपापको गठन काल देखिनै खेलेर ल्याएको खेल हो यो बंगालको। तर पैसा देखेपछि राल चुहाउने हाम्रा गद्दारहरुले यी सबै कुराहरु बुझेर पनि पैसा र कुर्सी भन्दा ठूलो जातिलाई सम्झेनन्। नेता त नेता भइ गए, जातै उस्तो, खदा माला लगाइदिएर तालीको गढ्गढाहटको साथमा स्वागत गर्ने जनताहरु पनि कस्ता हुन्, गद्दार नेताहरुलाई प्रसन्न गर्न मञ्च अगाडि कम्मर फर्काइ फर्काइ नाच्ने तरुणी तन्देरीहरु पनि कस्ता हुन्। कुन खुशीमा यति रमाएर नाचेका होलान्। हन जनतालाई लट्ट्याउन गद्दारहरुको दिमाग पनि कति साह्रो चलेको? ब्युटी कन्टेस्ट अरे। विश्वमा नभएको ब्युटी कन्टेस्ट आज हाम्रो दार्जिलिङमा हुँदैछ। ओल्लो घर पल्लो घर, ओल्लो गाउँ पल्लो गाउँमा ब्युटी कन्टेस्ट हुँदैछ। गिटी कुटेर खाइ नखाइ गरेर किनेको एक सरो लुगा लाएर कन्टेस्टमा भाग लिन निस्कँदै छन् हाम्रा चेलीबेटीहरु। हिज फलाना कमानबाट फलाना मिस मिरिक भइन् रे। आज फलाना गाउँकी फलाना मिस कालेबुङ भइन् रे। कालेबुङमा मन्त्र ब्यान्ड द्वारा लाइभ शो हुने अरे, हैट। राम राम राम, अब मिस युनिभर्स नै बनाउने भए हाम्रा सुन्दरीहरुलाई गद्दार नेताहरूले गोर्खाल्यान्ड बेचेर। यो दिमाग पहाडे दिमाग त हुँदै होईन, पहाडेको दिमाग यतिको हुँदो हो त आज गोर्खाल्यान्ड भइ सक्थ्यो। यो पक्कै तल माछा खानेहरुकै बुद्धि हो, यसमा कुनै शंका छैन। नवान्नमा खित्का छोडी छोडी कति हाँस्दै होलान् पहाडेहरुको बुद्धि देखेर।

SEE ALSO:  GTA Elections to be Held After Lok Sabha Polls - Announces Mamata

जय गोर्खा जय गोर्खाल्यान्ड


Be the first to comment on "पर्यटन महोत्सव शहिदहरुलाई श्रद्धाञ्जली?"

Leave a comment

Your email address will not be published.


*