फुलमाया

A depiction of the lives of tea garden workers

भन फुलमाया !
तिमीले दिनमा कतिवटा च्याको बोट
कलम गर्छौ?
लगभग तिन सौ बुट्टाहरु होईन?
त्यसो भए फुलमाया,
के तिमी
एक दिनमा त्यही संख्यामा
टाउकहरु छिनाउने दम राख्दैनौ?
अनि के मसिनगन भन्दा
कमि छन् त बर्षौं
कलम काट्ने तिम्रो हात?

फुटेकै ऐना
भए पनि टुक्राहरु जोड़ेर
ध्यान लाएर हेरत
फुलमाया,
कत्तिको ताकत रहेछ
तिमीले चलाएको
कलम छुरीमा।

जसरी लडेकी थिइन्
मनमाया मगरनी
अचानक!
झम्टेको चितुवासंग च्याको गाछमुनि।
देशको कुनै च्यानलको
आँखा नपरेको बुट्टाहरु मुनिको
रक्तामे बिरताको कथा।
सयौं कुल्लिहरुको बिष्फोटक चिचयाईले
सातो उड़ेको चितुवाको कथा ।

जसरी ,
एतवारीले दुईटा नानी च्यापेर
मातेर लास भएको ‘मरद’लाई
घरबाट तानेर जान बचाएकी थिईन
गाऊँमा दाह्रे हात्ती आउँदा।

एक पल्ट
तिम्रो आवाज दबाउनेको
गला निमोठेर हेर
फुलमाया!
खाई नखाई रुझिभिजी
पत्ति टिप्ने हात,
बुट्टा छाँट्ने हातमा कत्तिको
ताकत जम्मा भईसकेको छ।
एकदुईपल्ट खाँचो परेको बेला
अजमाएर त हेर
तिम्रो परिश्रमी हातलाई।

त्यो मैले लेखेको कविता
मैले बनाएको चित्र र
मैले गाएको च्याको गीत भन्दा
कति गुना शक्तिशाली छ
तिम्रो हात फुलमाया।

अनि पो साँच्चै
निरधक्क फुल्ने छौ तिमी
फुलमाया।

[Poet: अमिर सुन्दास]


SEE ALSO:  DAZZLING DARJEELING ROCKERS: Leewang Dorjee - Best Vocalist, Mingma Lhamu Tamang - Best Drummer at Hornbill Festival

Be the first to comment on "फुलमाया"

Leave a comment

Your email address will not be published.


*