दार्जीलिङ ब्लुज

Darjeeling AndolanYouth some barely 15 joined the revolution in the hopes of a better tomorrow.. did it ever come? Source: Mr. Shrestha [who had posted this in the comments section in one of the articles on TheDC earlier]

प्रत्येक दिन
खदुवा बन्दुक
बोकेर
एक हुल
अस्सीको दशकहरू
चोक बजार भएर गइरहेका छन्
हतियार समर्पणको निम्ति।

मोहब्बत गल्लीको भीड़मा
अस्ती नै हराइसकेका छन्
लाल ढिकीमा डेली लाइन लाग्ने
रङ्गीन जेरिकेन र
आदिम गोर्खे जीपहरू।

मास्तिर
डाँडामा
अझै भाकलहरू बिहान बेलुकी नबिराइ पुगिबस्छन्
छोरो पल्टन लागोसहरू भएर
ब्युटिपार्लर-स्पामा कमाउने भएकी
छोरीलाई रोग नलागोसहरू भएर ।

मैयाँकी आमाहरू
भोलिको लागी ठाउँ
ओगट्न नसकेर
जुलुसमा अधिकारको फुलाङ्गे
नारा लगाइरहेकी छिन्।

मैयाँकी भाई
क्याटिस बोकेर आमाको सब्जी बेच्ने ठाउँ माग्न
गएको छ
गोजीमा क्यासिट र सुक्खा रोटी बोकेर हिँडेको मने
फर्किएको छैन
फर्किनु दिइएको छैन।

रेलवे स्टेशनकी पोटर दिदी
नाम्लो बिसाएर
टेलिभिजनमा सिमानाको खबर सुनिबस्छिन्
छोरो
सुरक्षीत छ छैन हेरिबस्छिन्।

दार्जीलिङ
सपनाहरूको निक्कै ठूलो आदिम बस्ती हो
आश्वासनहरूको बजार हो
जहाँ
आदीवासी रेलले पनि
सपना देख्छ
वरिष्ठ नागरिक भइसकेको
ल्याण्डरोभरले पनि
मिठो कविता लेख्छ
उनीहरूलाई कण्ठस्थ छ
पाहाड़को लोकगीत
जसको हरेक स्थायी र अन्तराहरूमा
माटोको माया
चिन्हारी सङ्कटका बिरानीहरू छन्
अरूले नसुनिदिए पनि
निरन्तर गाइरहेका आलापहरू छन्।

दार्जीलिङ धेरै दयालु छ
दार्जीलिङ धेरै देशभक्त छ
देशको निम्ति आफ्ना
तातो मुटुहरू चडाइरहन्छ
सपनाहरू देशको निम्ति समर्पित गरिरहन्छ।
त्यसैले
देशले दार्जीलिङलाई पनि
साह्रै माया गर्छ
उसले सिमानाबाट
दिन दिनै
दार्जीलिङका मुटुहरू
राष्ट्रिय झण्डामा
पोको पारेर पठाइरहन्छ
यसरी
देशले फर्काइदिएको
चिसो मुटु छामेर
झण्डामा पोको परेर आएको
सम्मान खोलेर
कञ्चनजङ्घा भने सधैं रूनु न हाँस्नु
निर्निमेष टोलाइरहन्छ, टोलाइरहन्छ।

कवि – प्रवीण खालिङ, गान्तोक, पूर्व सिक्किम

All the hills, from children to adults, from men to women all cried out in rebellion “WE WANT GORKHALAND”

SEE ALSO:  फुलमाया

Be the first to comment on "दार्जीलिङ ब्लुज"

Leave a comment

Your email address will not be published.


*