आमाको खोजीमा हाँगाबाट खस्दैछन् चिचिलाहरु

BP Bajgain

“नानी तिमी कहाँ गएको?” केही क्षण अघि गाउँमा रोहित हराएर सातो गएको उसको बाबुको गुहार सुनेर उसलाई खोज्न हिँड़ेको म गाउँको धेरै माथि मानेडाँड़ामा स्याँ स्याँ हुँदै सोध्दैछु

‘‘विमला दिदीलाई खोज्न हिँड़ेको…

‘‘यति सानो उमेरमा घरदेखि यति टाढ़ो किन आएको अनि? हामीलाई भन्नु पर्दैन?

‘‘अनि तपार्इंहरूसँग गएको विमला दिदी तपाईहरूले किन नल्याएको?

नौ वर्षे रोहितको प्रश्नको कुनै जवाब मसँग छैन । विमला बंगाल पुलिसको कायर हातले चलाएको गोलीले निष्प्राण भई लड़ेको दृश्य मेरो आँखा अघि झल्झली आयो । रोहितलाई के भन्नु पर्ने हो मलाई थाहा छैन

‘अनि तपार्इंहरूसँग गएको विमला दिदी तपाईहरूले किन नल्याएको?

नौ वर्षे रोहितको प्रश्नको कुनै जवाब मसँग छैन । विमला बंगाल पुलिसको कायर हातले चलाएको गोलीले निष्प्राण भई लड़ेको दृश्य मेरो आँखा अघि झल्झली आयो । रोहितलाई के भन्नु पर्ने हो मलाई थाहा छैन

‘‘अंकल, दिदीले तपाईंलाई मेरो लागि केही पठाउनु भएन?”
म झसङ्गै हुन्छु। ‘‘के कुरा रोहित?

‘‘आमा…”, अनायसै मेरो आँखाबाट आँशुको वलिन्द्र धारा चुहिन्छन्, म त्यस दिनको घटनाभित्र अभिमन्यु जस्तो अल्झिन पुग्छु।
………………………….
सिब्सुको चप्रमारी जंगल, त्यही स्थान हो जहाँ केहि महिना अघि रेलको लिकमा अल्झिएको हात्तिको छावालाई रेलले हिर्काएको अनि निष्प्राण भई लड़ेको मेरो आँखाले देखेको थियो। त्यस समय म एक स्वार्र्थी पत्रकार थिएँ (यसको निम्ति पड्नुहोस् कथा ‘यथार्र्थ’)। तर आज माटोको आन्दोलनमा घटेको घटनाले मेरो मन–प्राण निश्चित दिशातर्फ बग्दैछ। हात्तीको छावा मरेको स्थानबाट मात्र केही किलोमिटर पर आफ्नै जीउँदा सन्तानहरू पुलिसको गोलीले भकाभक लड़ेको देख्दा मेरो स्वार्थ आज जातिप्रेम र देशप्रेममा परिणत भएको छ। मेरो आँखा अघि विमला राईलाई बंगाल प्रहरीले पोइन्ट ब्ल्यांक रेन्जमा निधारमा गोली ठोक्यो। मैले केही गर्न सकिनँ। सिवाय निष्प्राण भई लड़ेको उनको फोटो भोलिको अखबारको लागि खिच्न बाहेक

म विमलाको फोटो खिच्दै हुन्छु । यस्तैमा मेरो कानमा आवाज आउँछ, ‘‘एई, ओकेउ मार, एदेरके मारले आमरा बाङगाले इलेक्सन जित्ते पारबो” (एई त्यसलाई पनि मार, यिनीहरूलाई मारयौं भने हामी बंगालमा चुनाउ जित्न सक्छौं)। यो सुनेर मेरो अनुहार आवाजतर्फ फर्केको मात्र थियो, मेरो आँखा बंगाल प्रहरीको खाकी रंगहरूमा अल्मलिए तापनि कानहरूले आवाज सुन्यो ‘‘ढ्याम्म”। फेरि आँखाले देख्यो कन्सिरीको केही मुनि गोली लागेर सोह्र सत्रह वर्षे एक युवा निष्प्राण बनी ढल्दैछ। यी दुवै मृत्युहरु कुनै इन्काउन्टर थिएनन्, उनीहरुलाई प्रहरीले घेरेर असहाय बनाई गोलि चलाए ।

‘‘उफ्, मेरो गोर्खे रगत…,” युद्धको मामिलामा विश्व थर्कमान गराउने मेरो जातिको रगत आज मभित्र हिउँभन्दा चिसो बनी प्रवाह भइरहेको छ। साँच्चै होला मैले केही गर्न सकिनँ, मेरो जातिको युवा कन्सिरीमा गोली लागेर ढल्दा, केवल भोलिको अखबारको लागि अर्को एउटा फोटो खिच्न सिवाय ।
फेरि मेरो विचारमा आयो, भोलिको चुनाउको जीतको तृष्णामा गोली चलाउने व्यक्ति कदाचित प्रहरी हुन सक्दैन। उ पक्कै पनि पार्टीको क्याडर हो अथवा उसले पार्टीको क्याडर भएकोमा प्रहरीको नोकरी पाएको हो। उसले पक्कै पनि आफ्नो अधिकारीको होइन नेताको आदेशमा काम गर्दैछ।

अब म सतर्क बनें, यदि यहाँ म विरोधको स्वर बोकेर उभिएको थिएँ भने हुनसक्छ म पनि विमला र मेरो आँखा अघि निष्प्राण भई ढलेको सोह्र सत्रह वर्षे युवकको वर्तमान स्थितिमा पुग्न सक्छु। यसैले म सचेत भई केवल अनि केवल मात्र पत्रकारको धर्म निर्वाह गर्न थालें। मेरो वरिपरि असंख्य संख्यामा खाकी युनिफर्म लगाएको बंगाल प्रहरीहरू छन्। अब म सबैलाई बंगाल सरकारको राजनैतिक क्याडरहरू देख्न थाल्छु। मेरो सचेत मनले भन्छ, ‘‘तँ यहाँबाट भाग्नै पर्छ”। म ज्यान जोगाएर त्यस स्थानबाट पलायन हुन्छु। अब मेरो स्वार्थीपनामा परिवर्तन आएको छ। म पलायन भएको पटक्कै होइन। बालकृष्ण शमज्यूले लेखेको चिसो चूल्हो अब मेरो मस्तिष्कमा प्रवाहित हुन्छ। वीर बलभद्रले नयाँ फौज गठन गरी अंग्रेजलाई जित्ने उद्देश्य राखेर खलङ्गा दुर्गबाट निस्किनु परेको अवस्थालाई मन र मस्तिष्कमा बोकेर म पनि त्यहाँबाट विस्तारै अर्थक्रियात्मक पलायन हुन्छु ।
………………………….
गोर्खाल्याण्ड आन्दोलन र यससँग सम्वन्धित वर्तमान गतिविधिहरू जोड़िएको कुमानी चेकपोष्ट नजिक मैले अस्थायी डेरा लिएको छु । कार्यालयको आदेशमा त्यहाँकोे दैनिक जानकारी पठाउनुपर्ने बाध्यताभित्र लिएको उक्त डेरामा म पस्दा मेरो मन गह्रौ भएको छ। यस्तैमा सुन्छु, मेरो डेराको भित्ता पछिल्लतिरबाट सुकसुकाएको केही आवाजहरू। समय लगभग बेलुकीको ७.३० बजेको छ। मेरो झ्याल खोलेर हेर्छु, छ–सातजना गोर्खे चेलीहरू अनि तीन–चारजना युवाहरू डरले बनमाराको झ्याङलाई आड़ बनाएर मेरो डेरादेखि केही परतिर लुकेर बसेका छन्। म स्वंयलाई रोक्न सक्दिनँ अनि त्यहाँ जान्छु ।
‘‘किन डराएको? यता हामी धेरै संख्यामा छौं। यहाँ बंगालको प्रहरी आउने आँट गर्न सक्दैन। आउनुहोस् मेरो डेरामा बसौं ।”
‘‘दाई, यस आन्दोलनमा हामीलाई हतियार नउठाउने अनि आक्रमक नबन्ने आदेश छ। यस्तो स्थितिमा हामीलाई केही हुँदैन?”

मलाई पनि थाहा छैन पल–पलमा के हुनसक्छ भनेर । तरै पनि उनीहरूको विश्वासलाई टेवा लगाउँदै म बोल्छु, ‘‘हैन, यहाँ केही हुँदैन । तपार्इंहरू निश्चिन्त मेरो डेरामा आउनुहोस् ।

उनीहरूबाट मलाई थाहा लाग्छ अझै धेरै गोर्खे भाई बहिनीहरू प्रहरीको गोलीले घाइते भएका रहेछन्। मेरो आँखा अघि कन्सिरीमुनि गोली लागेर ढल्ने युवाको नाम विक्की रहेछ। अहिले मसँग भएको एक युवा प्रहरीको पक्राउबाट बाँच्न वन विभागले लगाएको काँडेतारबाट छिरेर भाग्ने हुँदा घाइते बनेका रहेछन्। उसलाई डेरामा ल्याएर म मेरोमा भएको फस्ट एड बक्स निकालेर मरहम पट्टी गर्छु

मेरो सानो डेरामा अब हामी एघारजना छौं। मैले दिनभरि केही खाएको छैन। अघिको घटना सम्झँदा केही खाने इच्छा पनि छैन। तरैपनि भोकको मार खप्न नसकी खिचड़ी पकाउँछु। मिठो चाहिएन, मात्र एक भोक टार्न पाए भयो

खिचड़ी पाक्दैछ, म मेरो ल्यापटप खोलेर मेरो कार्यालयमा समाचार पठाउने तर्खरमा लाग्छु। मेरो मोबाइलबाट यसै अभिप्रायमा म कार्यालयमा फोन गर्छु। फोन सम्पादक स्वंयले उठाउँछन्। ‘‘सर आजको घटनाको मैले आँखाले देखेको तथ्यहरू लेख्ने तयारी गर्दैछु। केही क्षणपछि इमेल खोलेर हेर्नुहोला ।

‘‘पी के, तिमीले स्टोरी पठाउनु पर्दैन, स्टोरी हामीले यहीं तयार गरिसकेको छौं । घटना स्थलमा खिचेका फोटाहरू छन् भने पठाऊ । त्यहाँ प्रहरी पनि घाइते भएको छ अरे, उसको फोटो तिमीले खिचेको छौ भने पठाई हाल, खिचेको छैनौ भने अरू कसैले खिचेको खोजेर भए पनि पठाउ”, सम्पादक बोल्छन्। म छक्क पर्छु । घटना स्थलमा हामी स्वंय पत्रकारहरूले देखेको कुरा लेख्नु नपाउनु अनि मानवताको हत्या भएको यति ठूलो घटनामाथि कार्यालयले नै समाचार बनाउनु जस्तो घटनाले मलाई मेरो पेशाप्रति विरक्ति लाग्न थाल्छ । प्रजातन्त्रको चौथो आयाम मानिने पत्रकारिताको स्वच्छता धमिलिएर गएको देख्छु म। तरै पनि कार्यालयको आदेश उलङघन नगरी मेरो ल्यापटपबाट नेटकनेक्ट गरेर इमेलको माध्यमबाट अघि खिचेको फोटोहरू पठाउँछु। मेरो विरक्तिले क्षितिज पार गरिसकेको छ ।
………..
खिचड़ी पाकेछ। सबैलाई पस्कन्छु । हातमा गाँस बोकेकी एक युवती जसको नाम देविका रहेछ, आँशुका वलिन्द्र धारा बगाई हातले उठाएको खिचड़ी गाँसमाथि खसाउँदै रून थालिन्। मलाई औड़ाह हुँदैै आयो, मुटु फुट्ला जस्तो भयो तर यसको क्षणक उनीहरूलाई थाहा हुन दिइँन।

एकक्षणमा सबै केहि नखाई उठे, देविकाको आँशुले सबैको भोक मेट्यो। म पनि उठेँ अनि सबैको खिचड़ी बटुलेर बाहिर लगेर रूखबाट झरेको सालको पात भेला गरेर त्यहाँ खन्याएँ। त्यस रात हामीले केही खाएनौं। गाउँको एउटा पाङरे कुकुर पुच्छर हल्लाउँदै खिचड़ी खान थाल्यो। त्यस गाउँको कुन घरको कुकुर हो कोनि त्यो, तर त्यस समयमा खान पाउने लालसामा उसले मालिक बिर्सिएको छ र नै अचिनारू मेरो अघि पुच्छर हल्लाउँदै खाँदैछ। यसरी मालिक नचिन्ने कुकुर पालेर के सुरक्षा पाइन्छ र? कतै हामीले पनि मालिकरूपी हाम्रो जातिको अस्तित्वलाई सामान्य खिचड़ीको लोभमा परेर, बिर्सिएर अर्काको निम्ति पुच्छर त हल्लाई रहेका छैनौं?
………………………….
राती हामी कोही सुतेनौ ं। मन रोइरहेको थियो। गोलबन्द भएर अघिको घटनासँग हाम्रो भोलिलाई दाँज्दै रात बिताउने प्रयासमा रह्यौं

‘‘के हामी सँधै नियतिको दास हुने र दाई?” एक युवती मलाई सोध्छिन्, मलाई उनको नाम थाहा छैन ।
‘‘अन्धकार गहिरिएर मात्रै त उज्यालोको विहानी आउँछ हैन र बहिनी?” प्रश्न सान्तवनाको तेर्साउनु सिवाय केही छैन मसित। ‘‘ए अँ, उतापट्टिको महिला प्रहरीलाई कसले काट्यो हँ? गान्धीवादी आन्दोलनमा कसले हतियार बोकेको थियो? म पुलिसको हूलबाट निस्कँदै गर्दा त्यस महिलालाई बोकेर उता लाँदै थियो, मैले फोटो पनि खिचेको छु…”, मेरो प्रश्न उनीहरूलाई गफमा भूल्याएर रात काट्ने प्रयासमा सोध्छु

‘‘हो र ? ठीक पारेछ कसले हो कोनि त्यसलाई काटेर…,अर्काको हक र अधिकारमाथि बुई चढ़नेहरूको त्यस्तै दुर्गति गर्नुपर्ने हो””, एक भाई झोकिन्छ

‘‘हैन हैन, त्यस महिलालाई हामी ठूलाहरूले काटेका होइनौं। हामीले अहिंसात्मक आन्दोलनको सूत्र अहिलेसम्म त फ्याँकेका छैनौं। त्यो कसरी काटिएको हो भन्ने मैले देखेकी छु”, एक बहिनीले वयान गर्छिन्

‘‘कसरी काटिई त ती महिला प्रहरी?””, मेरो जिज्ञासा बढ़छ

‘‘दाई, मेरो घर यहाँदेखि लगभग ९–१० किलोमिटर माथि दलगाउँ भन्ने ठाउँमा पर्छ…

‘‘के गैरीबास भन्ने ठाउँमाथिको दलगाउँ?” उनको कुरा बीचैमा काटेर मेरो अर्को जिज्ञासा

‘‘हजूर, मेरो नाम चन्दा हो। म र मेरो साथी रोशना अघि विहान सँगै यहाँ आएको हौं। माटोको मागमा चल्दै गरेको शान्तिपूर्ण भोक हड़तालमा सहभागी बन्ने हामी दुवैको ठूलो इच्छा थियो। हामी यहाँ आउँदा हाम्रै गाउँको एउटा सानो भाई नयन पनि हामीलाई पच्छ्याएर आयो। १० –११वर्षे नयनले किन हो कोनि छिमेकी दिदी रोशनालाई निकै पच्छयाउँछ। सायद रोशनाको नानीहरू प्रतिको मायालु व्यवहारले उसलाई निकै प्रभावित पारेको छ। आज यहाँ यस्तो गोलीवारी चल्छ भनेर जानेको भए हामीले त्यो कलिलो नयनलाई कदाचित यहाँ ल्याउने थिएनौं। अघिको घटनामा पुलिसको अन्दाधुन्द फाइरिङ र टियर ग्यासबाट बाँच्न हामी सबै दिशाहिन कुदिरहेका थियौं। यस्तैमा रोशना सिप्लीकानेको चोकेमा अल्झिएर लड़छे। म नयनलाई हातमा समातेर निकै अघि आइपुगेको हुन्छु। रोशनालाई छेउमा नदेखेर म पछि फकिर्एर हेर्छु। उसको अघि यमराज बनेर बंगाल प्रहरी एउटा हातमा बन्दुक र अर्को हातमा डण्ठा बोकेर उभिएको देख्छु। अचानक त्यसले रोशनामाथि डण्ठाको जोरदार प्रहार गर्छ। निकै वर भएको हाम्रो कानमा रोशनाको नली खुट्टाको हड्डी भाँचिएकोे आवाज ठोकिन्छ ‘‘चट्याक”। रोशना उठेर भाग्न खोज्छे, आधा उठेर फेरि लड़छे। यो दृश्य मसँगै नयनले पनि हेरिरहेकै हुन्छ। १० वर्षे बाल मस्तिष्कमा कस्तो प्रभाव पर्छ कोनि, उसले भूईंबाट केही टिप्छ। म देख्दै हुन्छु उसको हातमा घर छाप्ने पुरानो कर्कट पाताको टिनको मोटो च्याप्ला छ। मैले सोच्न भ्याएको हुदिन“, उसले त्यस प्रहरीलाई टिनको च्याफ्लाको घुँएत्रोले वरैबाट प्रहार गर्छ। त्यो घुँएत्रोे हावामा बतासिएर अर्कैतिर जान्छ अनि अर्को एक वृद्ध महिलामाथि डण्ठा उज्याई रहेको महिला पुलिसकर्मीलाई गएर लाग्छ। त्यस टिनको च्याप्लाले त्यो महिला पुलिसकर्मी घाइते बनेर मेरै आँखा अगाड़ी लड़छे। दाई, अब भन्नुहोस् त के दश वर्षे नयनले गान्धीवादी दर्शन बुझेको छ र? दाई मलाई डर लाग्दैछ भोलिको दिन थुप्रै नयनहरूको जन्म यस्ता घटनाहरूले गराउन सक्छ।

उसको कुरा सुनेर म अवाक बन्छु। आज के भयो भन्ने कुरा मेरो मस्तिष्कमा समाधान नै नहुने गणितको गाँजे सूत्र बनेर अल्झिएको छ। म पुनः प्रश्न गर्छु, ‘‘नयन कहाँ छ?”

‘‘रोशनालाई प्रहरीहरूले हात खुट्टामा समाएर झुण्ड्याएर लाँदै गर्दा नयन कहालिएर रोएको थियो। त्यस घटनाले उसलाई विक्षिप्त बनायो। उ सातो हराएको जस्तै भएको थियो। ‘रोशना दिदी’ सिवाय अरू केही उसको मुखबाट निस्कन्छ छाड़यो। गाउँको भाईहरूले अघि मात्रै उसलाई घर पुरयाएर आए।”

नयनको अवस्थाप्रति सम्वेदनशील बनेर होला मैले थाहै नपाई मेरा आँखाहरू रसाएर आएछन्। मेरो आँखाबाट खसेको आँशुको थोपा आफ्नो हातमा परेको देखेर मलाई सम्झनीको तन्द्राबाट ब्युँझाउँदै एउटा आवाज आयो, ‘‘अंकल तपाईं किन रोएको?”
………………………….

म तन्द्राबाट झसङ्ग हुन्छु। मेरो अघि उभिएर यो प्रश्न मलाई रोहितले गरेको हुन्छ। उसको ‘आमा’ शब्दले विचलित बनेर ८ फरवरीको सिब्सुको घटनामा विचरण गर्न पुगेको मेरो मस्तिष्क पुनः उसैको प्रश्नले फर्किएर मानेडाँडामा आइपुग्छ। मलाई के हुन्छ कोनि टुक्रुक्क बसेर रोहितलाई च्याप्प अङ्गालेर रून पुग्छु म।

‘‘अंकल किन रूनु भएको? नरूनुहोस् न…, के भयो? के मेरी आमा विमला दिदीसँग आउन मानिनन्?

म के भन्नु? ६ महिना अघि मात्रै हृदयाघातले संसार छाडेकी रोहितको आमा विमलाले कसरी फर्काउन सक्थी र? हुन सक्छ विमलाले हामी सबैको आम

‘‘गोर्खाल्याण्ड” ल्याउने वचन रोहितलाई दिएकी थिई होली

‘‘अंकल प्लीज भन्नुहोस्न, खै मेरी आमा र विमला दिदी?

‘‘नानी, विमला दिदी तिम्रो आमा भएको ठाउँमा गएकी छिन्। एकदिन अवश्यै हामी सबैको आमा फर्काउने अठोट बोकेर…”, अनि म भक्कानिएर रून पुग्छु। पारी क्षितिजमा घाम छेल्ने बादललाई तेज बतासले फटाउँदै गरेको हुन्छ। के बुझेर हो कोनि रोहितले मलाई च्याप्प अङगालो मार्छ।

क्षितिजको घाम बादलबाट निस्कँदा देख्छु बेलुकीको लालीमा सूर्यमा आएकै छैन। घामको किरणको विपरित परेको पारि पाखाको अँध्यारो छाँयामा कता–कता विक्की भाइ, नीता बहिनीले मलाई हेरेर नरुने संकेत दिएको जस्तो लाग्छ्र उनीहरुको उत्सर्गलाई आँसुुले नबगाउने अठोट गरेर उभिन्छु अनि रोहितलाई मेरो काँधमा बोकेर ओह्रालो लाग्छु। भोलिको दिन थुप्रै रोहितहरुलाई काँधमा बोकेर उकालो हिँड्नु बाँकी नै छ्र । पारि क्षितिजमा अस्ताउने तरखरमा अघि बढ्दै गरेको घाम भोलि फेरी उदाउने छ ।

[नोट: यो कथा मैले सिब्सु घटनाको सातौं दिन लेखेको थिएँ अनि विचार संकलन, समकालिन साहित्य अणि शब्दांजलीमा प्रकाशित भईसकेको हो| आज पुन: शहीदको सम्झनामा फेसबुक मित्रहरूलाई पठनको निम्ति प्रस्तुत गर्दैछु|]

Writes: BP Bajgain


Be the first to comment on "आमाको खोजीमा हाँगाबाट खस्दैछन् चिचिलाहरु"

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.