दार्जिलिङ्गे टूरिस्ट


कवि – पंकज शास्त्री

हैट्
कहा हौ देवकोटा !
हेर्नुहोस्न हामीलाई
हामी दार्जिलिङ्गे टूरिस्टहरु ।

कपालमा जेल लगाएर
च्यातिएको प्यान्ट लगाई
भोटेको दोकानबाट किनेको जुत्ता
ठ्याक्कै खुट्टामा हालेर
हिडेको हामी फेस्टिवलमा ।
ओठमा रातो लिपस्टिक लगाई
कपाल कर्ली र स्ट्रैट बनाउदै
एउटा पाउट, दुई वटा पाउट
अनि दुई वटा आउलाको सेल्फी लिदै
हिडेको हामी फेस्टिवलमा ।

अरे ! हामी त आफ्नै दार्जिलिङ्गमा
आफै टूरिस्ट पो त हाउ !
हामी त दार्जिलिङ्गे टूरिस्ट
मौज मज्जा, झिलि र मिली
यसैमा रमाउने हामी ।
हामीलाई के मतलब, हाम्रो आफ्नै
गोर्खे सन्तान फायरिंगमा
सहीद भएको ?

त्यही जीटीएलाई धिक्कारदै
रैली गरी हिड्थिउ हामी
आज त्यही जीटीएको पैसामा
टॉयट्रेनलाई फूलै फूलले सजाउदै
नाच्दै हिड्ने हामी
दार्जिलिङ्गे टूरिस्टहरु ।

कोही दाजु गोलीले मर्यो
कोही दीदी दुःखले मरिन्
अनि हामी स्वार्थी संसारको पात्र
कसैको दुई थोपा आँसू झरेको ठाउबाट
पखेटा लगाई प्याराग्लाइडिंग गर्दैछु
रगतको थोपाहरु उच्छिटिएको भित्तामा
कलर कलरको एलईडी लाइट लगाउदैछु
भोकलाई थाम्दै रैली गरेको त्यो ठाउमा
आज कम्मर हल्लाई नाच्दै हिड्दैछु ।

हेर्नु भयो देवकोटा
हामी दार्जिलिङ्गे टूरिस्ट ?


SEE ALSO:  Dear Sikkim - Please Intervene, and Intervene Urgently

Be the first to comment on "दार्जिलिङ्गे टूरिस्ट"

Leave a comment

Your email address will not be published.


*