जनताका आवाज पुष्पन प्रधान

Pushpan Pradhan

डुवर्स नेपाली साहित्य विकास समितिको वार्षिक अलङ्करणको भव्य समारोह थियो। डुवर्सका सबै श्रद्धेय अनि सङ्घर्षशील सामाजिक, साहित्यिक, साङ्गीतिक लगायत अन्यान्य क्षेत्रहरूलाई प्रतिनिधित्व गर्ने आदरणीयहरूको रमाइलो जमघट थियो। आमन्त्रित अतिथिहरूमा सिक्किम, असम, दार्जीलिङ, खरसाङ, सिलगढी लगायत देहरादून-भाग्सुसम्मका व्यक्तित्वहरू थिए। कवि अनि सङ्गीतकार वेग बसन्त थापाको रोचक उद्घोषणामा कार्यक्रमको सुन्दर सञ्चालन भइरहेको थियो।

पूर्व डुवर्सको बाग्राकोट त्यस दिन साँच्चै एउटा पावन भूमि बनेको थियो। यस्तैमा अनायास एउटा नामको उद्घोषणा हुनसाथ हर्षोल्लासले दर्शकहरूले सीटी ताली बजाउन थाले। हातमा गिटार लिएका अनि शिरमा नीलो पगरी गुँथेका एक युवकलाई सर्वप्रथम मञ्चलाई ढोगेको अनि त्यसपछि मात्र त्यसमाथि पाउ टेकेको देखियो। अब दर्शकदीर्घामा एउटा अचम्मको मौनता व्याप्त थियो, मानौं तिनीहरू त्यस युवकले फेरेका साससमेत सुन्न कलेजो थामेर बसेका थिए । साज-बाजका साथ मञ्चको केन्द्रियस्थलमा विराजेका त्यस युवा गायकले जब पहिलो आलाप लिए, लाग्यो समर्पणको पराकाष्ठामा पुगेका कुनै भक्तले जब ईश्वरलाई पुकार्दा हुन्, हृदयको त्यो साँचो पुकार, त्यस बन्दगीको आवाज यस्तै हुँदो हो। त्यो आवाज पहिलोपटकलाई अनि जीवनभरलाई मेरो हृदयको अन्तर्कुनामा कहिल्यै नमेट्ने गरी थपक्कै बस्यो। ती युवा गायक थिए पुष्पन।

Pushpan Pradhan

भारतको उत्तर पूर्वेली भाग अर्थात् सिक्किम, दार्जीलिङ, डुवर्स लगायत असम अनि आदिवासीबहुल समस्त पूर्वका प्रदेशहरू भाषा, संस्कृति, सामाजिक संरचना अनि परम्परा आदिका दृष्टिले भारतीय मूलस्रोतका प्रदेशहरूभन्दा धेरै नै भिन्न छन्। देशले घरि घरि बिर्सिरहने अनि उब्रेको सामल मात्र दिएर थुम्थुम्याइराख्ने   यी किनारीकृत क्षेत्रहरू। वर्षौंदेखि भौगोलिक असुविधाहरू झेलिरहेका अनि आर्थिक समस्याहरूले पिरोलिँदै आइरहेका यी किनारीकृत क्षेत्रहरू। अझ तुलनात्मक रूपले हेर्दा अनि सोझो भाषामा भन्नुपर्दा किनारीकरणको परिभाषाले पनि समेट्न नसक्ने अनि अवहेलित, तिरस्कृत, अवाञ्छित जस्ता विशेषणले सम्बोधित गर्न मिल्ने एउटा भूभाग हो ‘डुवर्स’। दैनन्दिनका बुनियादी सुखसुविधाबाट सम्पूर्ण रूपले वञ्चित यस भेकका मानिसहरू घरि राजधानी दिल्लीतिर, घरि सिक्किमतिर, घरि दार्जीलिङ अनि असमतिर फर्केर आशालाग्दो दृष्टिले हेर्ने गर्छन्। हाराहारीका ठाउँहरूमा कुनै व्यवस्थाले जन्म ग्रहण गर्दा ‘बार्गेनिङ पोइन्ट’ बन्ने तर आफ्नो भागमा भने केही जुटाउन नसक्ने डुवर्समा साधारण जीवन धान्न त हम्मे हम्मे पर्छ भने प्रतिभाहरू जन्मनु अनि उपयुक्त परिवेशको अभावमा काकाकुली तिर्खाले छटपटिँदै मर्नु साधारण कुरा हो। उर्वर माटो अनि जलसिञ्चनको पूर्ण अनुपस्थितिमा पनि केही प्रतिभाहरू सङ्घर्ष गर्दै मञ्चसम्म त पुग्छन् तर फेरि पेशागत रूपमा सफल हुनै सक्दैनन् किनभने समभाषी, समसंस्कृतिधारी अनि समगामीहरूबीच फेरि उनीहरूलाई लाग्ने एउटा काँचो ट्याग हो ‘बहिरागत’को उपमा। प्रत्येक खुडकिलोमा नै नाङ्गा तरवारहरू टेक्दै अनि रगतपच्छे हुँदै पनि केही विरल डुवर्सेली प्रतिभाहरू भने हामीले विश्वमञ्चमा पूर्ण आत्मविश्वास लिएर उक्लेका देखेका छौं, उनीहरूको प्रत्येक सफलतामा हामी आत्मविभोर हुने गर्छौं। उदाउँदो सूर्यलाई नमस्कार गर्ने यस उपभोक्तावादी अनि बजारवादी संसारले जब उनीहरूको पर्फर्मेन्समा थप्पडी मार्दछ, उनीहरूको वाहवाही गर्दछ, हामी डुवर्सवासीहरू अल्प समयको निम्ति भए पनि सम्पूर्ण पीरमर्का भुलेर गर्वले गदगद हुन्छौं। डुवर्सलाई गर्वबोध गर्न यस्तै अवसरहरू दिने विरल प्रतिभाहरूमध्ये एक असाधारण अनि वैश्विक कलाकार हुन् पुष्पन ।

SEE ALSO:  Finding a Flower Called Ajambari
Pushpan Pradhan

पुष्पनको यो गायन-यात्राको प्रत्येक खुडकिलोमा नै सङ्घर्ष थियो। पारिवारिक, आर्थिक, भौगोलिक चुनौतीहरूलाई पार गर्दै अनि कहीं कतै नबिसाइकन उनले आफ्नो साङ्गीतिक यात्रा तय गरेका छन्। असजिलो अनि अपठ्यारो जस्ता शब्दहरूलाई उछिन्दै उनी विश्वमञ्चमा देखा परेका छन् अनि वैश्विक सङ्गीतको इतिहासमा उनले सगर्व आफ्नो नाम दर्ता गरेका छन्। पुष्पनसितै प्रसिद्ध हुनपुगेको छ सधैं ओझेलमा पर्नेमात्र होइन आम मानिसले नाम समेत नसुनेको अथवा सुनेको भान नगरेको डुवर्सभूमि अनि चिलाउने कमान ।  

वैश्विक मञ्चसम्मको उनको यो यात्रा, अथक परिश्रम अनि निरन्तर साधनाको यात्रा थियो। आफ्नो असीमित प्रतिभा अनि साहसिक निर्णयहरूको परिणाम थियो। तर कुनै पनि बजार अनि व्यवसायका आफ्नै प्रकारका नियम अनि मान्यताहरू हुन्छन्। बजारमा आइपुगेपछि आफूलाई टिकाउनमात्र होइन, बिकाउनको निम्ति पनि गायक-गायिकाहरूले नानाप्रकारका युक्तिहरू अप्नाएका अनि राम्रा राम्रा गायक अनि गायिकाहरूले समेत सम्झौता गरेका उदाहररणहरू हाम्राअघि छन्। यस्तो जटिल परिस्थितिमा पनि आधुनिक गायन अनि सङ्गीतका स्थापित मान्यताहरूलाई अनि खालिस बजारवादका मिथहरूलाई झुट्याउँदै छुट्टै परम्पराको थाल्नी गर्न सक्षम भएका छन् पुष्पन। गायकीमा, शब्द-विन्यासमा, लवजमा, सङ्गीतमा, प्रस्तुतिकरणमा समेत पूर्णतः नौलोपना लिएर हामीसमक्ष प्रशंसा मात्र नभएर आदरको पात्र बन्न पुगेका छन् पुष्पन।

पुष्पनसितको दोस्रो साक्षात भेट सामसिङ चियाबारीको उच्च माध्यमिक पाठशालामा एउटा समारोहबीच सोझै मञ्चमा भएको हो। मेरो पहिलो कविता सङ्ग्रह ‘सभ्यताका पेण्डुलमहरू’माथिको विमर्श कार्यक्रममा। डुवर्सको अभिभावक संस्था डुवर्स नेपाली साहित्य विकास समितिद्वारा अनि समाजसेवी तथा शिक्षकहरू जनार्दन थापा, रबिन खवास तथा अशोक सुब्बाजीको प्रयासमा भइरहेको यस कार्यक्रममा सेलिब्रिटी पुष्पनले -आज म गाउन होइन केवल पवित्रा दिदीलाई सुन्न आएको हुँ, भनिदिँदा मलाई यस कलाकारको हृदयको उदारता पनि ज्ञात भएको हो। एउटा सङ्घर्षशील स्रष्टालाई सराहना गर्नु भनेको उनलाई सञ्जीवनी पिलाउनुसरह हो भन्ने सत्यका ज्ञाता यी कलाकारको सङ्गीतयात्रा समयभन्दा धेरै माथिको हो भन्ने कुरा मैले त्यसैबेला अनुभव गरेकी हुँ। व्यक्ति पुष्पनको यही विनयशीलता जब उनको गायनको रूपमा श्रोताका कानमा गुञ्जिन्छन्, सोझै हृदयलाई छुन्छन् त्यसपछि मस्तिष्कलाई झकझक्याउँछन्। एक साँचो स्रष्टा एक असल मानिस पनि हुन आवश्यक छ भन्ने उक्तिलाई चरितार्थ गर्ने उनको यही विनम्रता, सहृदयता तथा सङ्गीतप्रतिको पूर्ण समर्पणको भावले गर्दा नै एकपटक पुष्पनलाई सुन्ने श्रोता जीवनभर उनको मर्मभेदी आवाजको कायल बनेका हुन्छन् अनि उनको आवाज सुन्नलाई व्याकुल बन्न पुग्छन् ।

SEE ALSO:  Monsoon Blues
Pushpan Pradhan

पुष्पनसित मेरो तेस्रो प्रत्यक्ष भेट थियो टिस्टापारिको बद्रीभूमि बाग्राकोटमा। अथक समाजसेवी अनि साहित्य साधक बद्रीनारायण प्रधानको आजीवन सेवाले सिंचन गरेको यस ठाउँलाई धेरैपल्ट अग्रजहरूले ‘बद्रीभूमि’ भन्ने गरेका छन्। यही माटोले जन्माएको छ माटोका साँचो कलाकार अमिर सुन्दासलाई, निबन्धकार अनि टीभी स्टार अजय खड्कालाई, पत्रकार, समालोचक रूपेश शर्मालाई, गोर्खा समाजका एक उदाहरणीय अभियन्ता सुखमन मोक्तानलाई, समर्पित समाजसेवी सितम मोक्तान, गोपाल विश्वलगायत थुप्रै थुप्रै स्रष्टा अनि कलाकारलाई। बाग्राकोट टेक्दा म सम्झन्छु कुमार सुन्दासलाई, गायिका शर्मिला विश्व अनि रजनी सुन्दासलाई, अरू धेरै-धेरैलाई।

पुष्पनसित तेस्रो भेट कविता अनि गायनको साझा कार्यक्रममा भएको थियो। पहिलो खण्ड अभिसङ्गीकवितालाई दिइएको थियो जसमा मेरा केही कविता प्रस्तुति थियो अनि दोस्रो खण्ड गायन अर्थात् पुष्पनलाई दिइएको थियो । कार्यक्रममा पुष्पनले आफ्नो जनवादी शैलीमा झण्डै आधा दर्जन जति गीतहरू प्रस्तुत गरे। फाटेको तिरपल लगाएको अनि फाटेको झोला बोकेका पुष्पनले जब गीतहरू प्रस्तुत गरिरहेका थिए मलाई लाग्यो चियाबारीका बोल्न नसक्ने श्रमिकहरू आर्तनाद गरिरहेका छन् । उनी डा. पुष्कर पराजुलीका शब्दहरू गाइरहेका थिए-

आठ बजे जान्छ पाँच बजे फर्किन्छ

रिस उठे आफैसित झर्किन्छ

चिसो पानी पिउँछ, जुस खाँदैन

भात रोटी खान्छ घुस खाँदैन

कसरी भन्नु ठुल्दाजु, उसले देश बनाउँदैन

एक समयको हरियो सुन मानिएको अनि देशकै सर्व बृहत् उद्योगको रूपमा स्थापित चिया उद्योगमा बर्षौंदेखि पौखेजोडी खेलेर देश निर्माणमा आफ्नो योगदान दिने चिया श्रमिकहरूको अवस्था आज दयनीय छ। उनीहरूतिर फर्किएर सहानुभुतिको दृष्टि दिने कसैलाई फुर्सद नै छैन। ती अबोलाहरूका दुःख जब पुष्पन आफ्ना गीतहरूमा सुनाउँछन् हामीलाई लाग्छ सारा चियाबारी नै रोइरहेछ। त्यो गीत सुनेर मलाई लाग्यो पुष्पनले मैले लेख्न नसकेको कविता नै अलापिरहेका छन्। अरूलाई पनि शायद यस्तै लाग्दो हो। पुष्पनको लोकप्रियताको कारणहरू मध्ये यो पनि एउटा हो कि ! नेपाल आइडलको विश्वमञ्चमा जब उनको गीत पन्छी फर्केर स्वदेश आऊ गुञ्जिरहेको थियो, विश्वकै सबैभन्दा बेसी श्रमिकहरू निर्यात गर्ने देश नेपालको प्रत्येक हृदयकै आवाज आँसुको भल बनेर बगिरहेको द़ृश्य हामी सबैले देखेका हौं। उनको अर्को गीत बाबुले जुँगो बन्धकी राखेको ले पनि नेपाल आइडलको मञ्चमा त्यतिकै सम्मान पायो। गीत त सबैले गाउँछन् तर मान्छेको हृदयको आवाजलाई पहिचान गर्ने गायकहरूमा आजको दिनमा पुष्पनलाई टक्कर दिने बिरलै पाइन्छन्।

SEE ALSO:  Bhai Tika – The Practical Aspects of the Rituals We Follow

क्रिसमसको छुट्टीमा कार्यस्थलबाट घरसम्मको यात्रामा छु। कोलकाताबाट एनजेपी हुँदै अगरतला, त्रिपुरासम्म जाने कञ्चनजङ्घा ट्रेनमा भर्खरै सवार भएकी छु। यात्रीहरूको हस्याङ-पस्याङ, तर्क-वितर्क, विक्रेताहरूको ओहोर-दोहोर अनि होहल्लासित अभ्यस्त मेरो कानमा अचानक केही अलग आवाज ठोक्किएको छ । म पछि फर्केर हेर्छु, गलामा परिचय पत्र झुण्ड्याएका लगभग दुई दर्जनजति लेप्चा बालकहरू पारम्परिक वेशभूषामा, आफ्ना शिक्षक-शिक्षिकाहरूसित यही ट्रेनमा यात्रा गरिरहेका रहेछन्। झट्ट हेर्दा नै ती बालकहरू प्राथमिक विद्यालयका विद्यार्थीहरू हुन् अनि कोलकातामा कुनै भव्य समारोहमा सहभागिता दिएर फर्केका हुन् भन्ने खुट्याउन मलाई गाह्रो पर्दैन । गोरा- गोरा यी बालकहरूका गाला राता स्याउजस्तै देखिन्छन्। आ-आफ्नो सीटमा थपक्क बसेका छन् अनि अनुशासनले भ्याएसम्मको हल्ला गर्दैछन्। रेलले रफ्तार पक्रिसकेको छ। लामो यात्राको विरक्तिलाई केही कम गर्न एकजना शिक्षकले गिटार निकालेर बजाउन थालेका छन्। केही हिन्दी, केही अङ्ग्रेजी अनि केही लाप्चे गीतको गुनगुनले मेरो यात्रा पनि रमाइलो बनाइदिएको छ। ट्रेनका अन्य यात्रीहरू पनि गला खोलेर गाइरहेका यी बालकहरूलाई सुनिरहेका अनि हेरिरहेका छन् ।

गीतहरू गाउने क्रममा बालकहरूले जब  पुष्पनका गीतहरू गाउन थाल्छन् म हर्षमिश्रित आश्चर्यमा पर्छु। बाबुको जुँगो बन्धकी राखेको, आमाले गुन्यूँ चोलो साटेको, तिमीले त बिर्सेछौ…, कसरी भन्नु ठूल्दाजु उसले देश बनाउँदैन…. पैसा होइन पासो छ परदेशमा…।  जनजिब्रोमा कुनै गीत तब मात्र झुण्डिन्छ जब साधारण मान्छेको अन्तरमनको तहसम्म कुनै गीतले भित्रिने बाटो बनाएको हुन्छ। कुनै पनि गायक, गीतकार, सङ्गीतकारलगायत कुनै पनि सर्जक-कलाकारको मनको धोको एउटै हुन्छ, उसको कम्तीमा पनि एउटा सिर्जना मास्टरपीस बनोस् अथवा जनजीवनको हृदयमा उतरोस् । यसलाई नै सफलता अनि लोकप्रियताको पराकाष्ठा पनि मानिन्छ।

 यसबेला मलाई पुष्पनको लोकप्रियतामाथि अपार गर्वबोध भइरहेको छ। मलाई लाग्यो, मैले क्रिसमसको अवसरमा मिठो उपहार प्राप्त गरेकी छु। यो उपहार मलाई पूर्वका तीन ज्ञानी पुरूषहरूले नवजात यीशुलाई चढाएको उपहार समतुल्य लागेको छ । मेरो हृदय गदगद भइरहेको छ। पुष्पनको गायन जनताको आवाज बनेर गुञ्जियोस्। हामी पनि एउटा बब डिलन प्राप्त गरौं । उनलाई अनेकन शुभकामना।

Writes: पवित्रा लामा


Be the first to comment on "जनताका आवाज पुष्पन प्रधान"

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.