बिमल गुरूङको आत्मसमर्पण: कति गोर्खा हितमा कति व्यक्तिगत स्वर्थ?


 

“१० मार्च २०१० सम्ममा गोर्खाल्याण्ड ल्याईन भने म आफ्नै निधारमा गोली ठोक्नेछु।”

“म जहाँ रहेता पनि आफ्नो जाति, माटो र गोर्खाको आकांक्षा-गोर्खाल्याण्डको निम्ति लडीरहेको हुनेछु ।”

माथि उद्धृत वयानहरू पूर्व गोजमुमो सुप्रिमो, बंगाल सरकारद्वारा खेदिएका अौ भूमिगत बिमल गुरूङले छाती पिट्दै दिएका बयानहरू हुन् ।

पहाडमा आफ्नो वर्चस्व कायम रहँदाताका अनि भूमिगत हुँदाको समयहरूमा बिमल गुरूङले दिएका सैंकडौ, हजारौं यस्ता भावनात्मक अनि गोर्खा ह्रदयहरूमा क्रान्तिको अागो सल्काउने वयानहरूको संग्रह गर्नु हो भने एउटा किताब नै बन्ला।

एक कुशल वक्ता भई पहाड मात्र नभएर बंगाल सरकारसम्म थर्कमान गराउने बिमल गुरूङ तीन वर्षको भूमिगत जीवन पश्चात अचानक कलकत्तामा राज्य सरकारका अधिकारीहरूसंग अघोषित सभामा भाग लिएको खबर सुनेर पहाड, तराई अनि डुवर्सका जनता चकित भएका छन् ।

फेरि तत्कालै भाजपासंगको लामो समयको गठबन्धन टोडेर भाजपालाई सहयोग गर्दै अाएको दशक बित्दा सम्म गोर्खाहरूलाई कुनै राजनीतिक निकास प्रदान नगरेको गुनासो गर्दै अागामी २०२१ को विधानसभा चुनावमा तृणमूल सरकारलाई सहयोग गर्ने घोषणा गरेर जनतालाई अवाक बनाएको छ। फलस्वरूप सोसियल मिडियामा जनमानसले थरी थरीका प्रतिक्रिया पोखेका छन्।

गोर्खाल्याण्ड अान्दोलन २०१७ को जनपीडा

२०१७ को रक्तपातपूर्ण गोर्खाल्याण्ड अान्दोलनकोे नेतृत्व नायक बिमल गुरूङलाई जनताले अात्मादेखि नै साथ दिएको गवाही राष्ट्रले मात्र होईन संसारले पनि दिन नहिचकिच्याउला। बंगाल सरकारको अमानविय अत्याचार अनि दमनको पर्वाह नगरी सडकमा उत्रेका जनताले असह्य पीडा भोगेका थिए। लोकतान्त्रिक बिरोधमा उत्रेका जनतामाथि केन्द्रीय बल प्रयोग गर्दै जनताको संवैधानिक अधिकारको अावाजलाई राज्य सरकारले बलजफ्ती दबाएको निन्दनीय घटनाले जनताको मुटुलाई सियोले घोचे झैं अझै घोच्दछन्।
छुट्टै राज्यको सपना बोकेर ज्यानको बाजी लगाएर सडकमा होमिएका जनताले एतिहासिक १०४ दिनको बन्द समेतलाई अात्मसात गरी साझा अाकांक्षा गोर्खाल्याण्डको निम्ति भोक र तिर्खा बिर्सेका थिए।

संसारदेखि अलग थलग पार्दै बंगाल सरकारद्वारा थोपिएको जातिय उत्पीडनको खबर प्रचार प्रसारलाई रोक लगाउँदै बंगाल सरकारले जनताको अभिव्यक्तिको स्वतन्त्रता खोस्दै मौलिक अधिकार संचार माध्यमहरूलाई प्रतिबन्ध लगाएको अनुचित अनि निन्दनिय घटना जनताले शायदै भुल्लान्। शिलगडी देखि पहाडसम्मको खाध्यन्न अोसार पसार समेतमा प्रतिबन्ध लगाएर ममता सरकारले अमानवीयताको सीमा पार गरेको दिनहरूलाई भुल्ने गोर्खा जाति हुन सक्दैनन् ।

भाषिक अतिक्रमणको बिरूद्धबाट शुरू गरिएको अान्दोलनदेखि छुट्टै राज्य गोर्खाल्याण्डको अान्दोलन सम्म अाईपुग्दा अौ अान्दोलनले चरम सीमा पक्रिन्दासम्म के वृद्ध के वृद्धा, के वयस्क के युवा, के नर के नारी,के आस्था के धर्म, के जाति के समुदाय, समाजको विभिन्न क्षेत्रबाट सहयोग पुगेको अान्दोलन जनअान्दोलनमा परिणत हुँदा बंगालको सातो पुत्लो उडेको अवस्थाको महसुस राष्ट्रले पनि गरेका थिए। जसोसको बिरूद्धमा बंगालले कुटिल रणनीति अपनाउँदै अान्दोलनलाई असफल तुल्याउनको निम्ति गोर्खाल्याण्ड प्रेमी दाज्यू भाई दिदी बहिनीहरूको धरपकड, घर कुड्की शुरू गरे।

SEE ALSO:  गोरखाको हराएको चिनारी : दूर्भाग्य कि द्वेष?

निर्ममता र बर्बरताको परकाष्ठा नाघ्दै अगणतान्त्रिक कार्वाहीको माध्यमले जनमानसलाई मर्नु न बाँच्नु बनाएका दिनहरू हिजै मात्र हो जस्तो लाग्छ। बंगालको आँखाको छारो बनेका गोजमुमोका कार्यकर्ता अनि अान्दोलनकारीहरू माथि झुटो मुद्धा दायर गर्दै ममता सरकारले लोकतान्त्रिक हतकंडा अपनाउँदै आतांकवादीको संज्ञा दिई सबैलाई जंगल पस्न बाध्य बनाए।

बेघर भई घर परिवार, समाज, नाता गोता, अामा बाऊ, दाज्यू भाई, दिदी बहिनी, स्वास्नी छोरा छोरी देखि टाडा भई हजारौं गोर्खाल्याण्ड अाकांक्षीहरूले भोगेका भौतिक अनि मानसिक पीडादायी भूमिगत जीवनको हिसाब किताब कसले गर्लान् त?

कार्वाहीमा बिमल गुरूङ, रोशन गिरी माथि सैंकडौं मामिला तेर्साउँदै भूमिगत जीवन बिताउँन पहाडबाट शिकारलाई खेदे जस्तै खेदी पठाएको यी महानुभावहरूले चट्टै भुले। नाकमा रगत नभएका यी जनताको सेवक भनौदाहरू गोर्खाल्याण्डको मुद्धालाई कलकत्ताको हुगली नदीमा बगाएर पहाड तराई अनि डुवर्सको सर्वाङ्गिन बिकास गर्न हेतु ममता सरकारले दिने राजनीतिक समाधान छातीमा भिरेर पहाड पस्ने तर्खरमा छन्। विडम्बना तड्पिन्दै मरेको दृश्य सायद जनता जनार्दनको आँखामा नाँच्दो हुन् ।

शहिदहरूको अपमान अनि जनता प्रतिको बिश्वासघात

२०१७ को अान्दोलनको कालो दिनहरूको स्मरण गर्दा अाँखामा झलझली रगतले लथपत रक्ताम्य लाशहरू अनि नाकमा सडकमा बगेका गोर्खे रगतको अालो बासना आउँदछन् । कोही युवा अवस्थाका कोहि बयस्क बिवाहित जसले माटो र जातिको निम्ति , पहिचानको निम्ति, छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति संवैधानिक लडाईमा ज्यानको अाहूति दिए । ती १० जना शहीदहरूको मनमा छल कपट थिएन, स्वर्थ थिएन । उनीहरूको मनमा केवल उत्पीडन थियो। बंगाल सरकारको थिचोमिचो थियो। गोर्खा जाति प्रति गरिएको भेदभाव थियो। बंगाल सरकारको शोषणको घाऊहरू थियो। बंगाल सरकारको क्रूरता अनि अमानविय ब्यवहारको चोटहरू थियो। उनीहरू रहरले होईन करले लडाईमा होमिएका थिए जसको ह्रदयहरूमा उन्मुक्तिको उत्कट इच्छाहरू थियो।

स्वतन्त्रताको नौलो बिहानीको पर्खाई थियो। जीवनमा अभाव थियो। दुर्लभता थियो। भावी पीढीका निम्ति सजाएका सपनाहरू थियो।
कसैका परिवारले पति गुमाए। कसैका परिवारले पिता। छोरा गुमाए। दाज्यू भाई गुमाए। बाल बच्चाहरू टुहुरो भए।

SEE ALSO:  Rekha Sharma Chairperson National Commission for Women Lambasts Darjeeling District Administration

शहिदहरूका परिवारहरूलाई बिचल्ली बनाएर बिमल गुरूङले अघोषित क्षेत्रबाट हरेक सहिद दिवसमा शहिदहरूको अाहूतिको सरहना गर्दै तिनीहरूको बलिदान खेरो जाने छैन भन्दै धूप घुमाएर श्रद्धाञ्जली चडाएको बिश्वलाई भिडियो मार्फत देखाए।

भावनात्मक अडियो सन्देश सुनाए। जनतालाई गोर्खाल्याण्ड प्रति ईमान्दर रहेको बिश्वास दिलाए।

वास्तविकता अनुमान लगाउँदा काँधमा अाएको अान्दोलनको बिफलताको भारी लुकाउन भूमिगत भैटोपलेको हो कि। राजनीतिमा अकल्पनीय खेलहरू खेल्छन्। जालहरू बुन्छन्। नत्र त हरेक बयानमा गोर्खाल्याण्डको सुगा रटाई रट्ने , पहाडमा बाघ झैं गर्जिने बिमल गुरूङ तीन वर्ष पछि भिजेको मुसो जस्तो
कलकत्तामा किन अचानक देखा परे? भाजपासंग गठबंधन तोड्नुको अर्थ गोर्खाहरूको हितमा छ भने कुन अाधारमा छ? त्यही बंगालको कम्युनिस्ट सरकारदेखि लिएर तृणमूल सरकार सम्म गोर्खाल्याण्डको बिरूद्धमा एउटै अडिगतामा चट्टान झैं खडा भएको जग जाहेर छ। भाजपासंग गठबन्धन तोडेर तृणमूलसंग हात मिलाउनुमा राज्य सरकारले थोपेको सैंकडौं कानुनी मुद्धाबाट उम्किनुमा बुद्धिमता ठानेर बिमल गुरूङले गोर्खाल्याण्ड मुद्धासंग सम्झौता गरेको हो त? हिजसम्म शहिदहरूको सम्झानामा बिव्हल बन्ने बिमल गुरूङले अाफू बाँच्ने स्वर्थमा बंगाल सरकारद्वारा गोली ठोकी निर्मम हत्या गरिएको शहिदहरूका अात्मालाई अपमान मात्र गरेनन् तर गोर्खाहरूको आकांक्षालाई समेत कुल्चेर जनतामाथि बिश्वासघात गरेको छ।

हिजसम्म जीटीएले गोर्खाहरूको आकांक्षा पूरा नगरेको भन्दै त्यसैको तिरस्कार गर्ने बिमल गुरूङलाई अाज कुन परिस्थितिले थुकेको थुक चाट्न बाध्य गरायो? हिजसम्म गोर्खाल्याण्डको वकालत गर्दै गोर्खाहरूलाई बंगालको शोषणबाट उन्मुक्ति दिलाउने अाफूलाई मसीह ठान्ने बिमल गुरूङ किन बंगालको अगाडि घुँडा टेके, अात्मसमर्पण गरे?

कुन परिस्थितीले हिज सम्म भाजपाले मात्र गोर्खाहरूको स्थायी राजनीतिक समाधान गर्न सक्छ भन्ने बिमल गुरूङले उनीहरू प्रति गुनासो गर्दै ममता सरकारले पहाडको मांगहरू पूरा गरेका छन् भन्न बाध्य गरायो? कुन हिसाबले बिमल गुरूङले ममता सरकारबाट राजनीतिक समाधानको अपेक्षा राखेका हुन् जब की जनताको जनादेशलाई कुल्चेर पहाडको प्रशासन माथि कब्जा गर्ने अलोकतान्त्रिक अनि अवैध ढंगमा जनताको अाकांक्षा बिपरित कार्य गरीरहेका छन्।

अाफ्नो जातिमाथि गरेको अत्याचार, दमन अनि अमानविय बर्बरतालाई पचाएर पहाडमा जनताले एक आँखाले पनि हेर्न नसक्ने तृणमूल कांग्रेसलाई बढावा दिने तत्पर्ता कस्ने बिमल गुरूङको ब्यक्तिगत स्वर्थ, जातिप्रति धूर्तता अनि कपटीपना उदांगो भएको छ। अाफ्नै पाखण्डीपना उजागर गर्दै “गोर्खाल्याण्ड मुद्धालाई हामी छोड्ने छैनौ” भन्दै लज्जासपद बयान दिनु कुन मुखले सकेको हो जब की जनतालाई ज्ञान भएकै कुरो हो की बिमल गुरूङको मुखबाट निस्केको बयान नबन्नामा लिखित पटकथा हो भनेर। यस्ता कठपुतली नेताले गोर्खा जातिलाई पार लगाउँछ भनेर ठान्नु र स्यालको सिङ पलाउनु एउटै कुरो हो । अाफ्नो स्वभिमान बेचेर अाफ्नो जाति र जनताको भावनासंग खेल्ने बिश्वासघाती नेतालाई स्वभिमानी गोर्खा जातिले तिरस्कार नगर्लान् र?

SEE ALSO:  Casteism is a Disease - Make sure you don't Suffer from It

पहाडमा बर्चस्व गुमाई सकेको बिमल गुरूङले फेरि राजनीति गर्नलाई नयाँ अाधारशिला खडा गर्नु पर्छ तर जनताको एकमात्र आकांक्षा गोर्खाल्याण्डको नाम गरी राजनीति गर्ने अधिकार भने गुमाई सकेको छ । दुईमुखे नेतालाई अब उसो जनताले पत्याउने पनि छैन ।

स्मरण रहोस् बिमल गुरूङ अब जनताको निम्ति खोलामा हानेको ढुंगा बराबर हो। नरूचेको गाँस सरह भएको बिमल गुरूङ जनमानसको मानसपटलबाट हराएको बिषय बनी सकेको छ। जनताको आंकाक्षा-गोर्खाल्याण्डलाई पेवा बनाउने हिम्मत उनले कदाचित नगरे पनि हुन्छ। बंगालको खुट्टामा शिर झुकाई सकेको अनि गोर्खाल्याण्ड मुद्धालाई सम्झौता गरीसकेको व्यक्तिमा यसको नाम उच्चारण सम्म गर्ने नैतिक अधिकार छैन अब। बिमल मात्र नभएर जीटीए २ को बिक्री भएका बंगालको कठपुतलीहरूले पनि जनताको एउटै आकांक्षा गोर्खाल्याण्डको नाम गर्दै जनतालाई प्रलोभन देखाउने खेल बन्द गर्नु पर्छ। कारण जनताको मन मस्तिष्कमा गोर्खाल्याण्ड बाहेक अरू काम नलाग्ने ब्यवस्थाहरू छँदै छैन। गोर्खाल्याण्ड मुद्धा जनताको मुद्धा हो । यो मुद्धा कहिले ननिभ्ने मशाल हो। समय बलवान् छ। यही जनताबाट एकदिन यो आकांक्षा पूरा हुनेछ।

पहाडको राजनीतिक संकट

गोर्खाहरूको छुट्टै राज्य गोर्खाल्याण्डको मांग भारतको सबै भन्दा पुरानो मांग हो। हिलम्यान एसोसिएसन देखि लिएर सुवास घिसिङको हिंस्रक अान्दोलन अनि बिमल गुरूङको पालामा अाईपुग्दा सम्म पनि गोर्खाहरूले कुनै ठोस उपलब्धि हात पार्न सकेका छैनन्। ठूलो विडम्बना ।

केन्द्र र राज्य सरकारले गोर्खाहरूलाई दिएको ललीपप अर्ध स्वायत्त प्रशासनिक निकायले जनताको आाकांक्षा पूरा गर्न असफल भएको उदाहरणहरू हुन् दागोपाप अनि जीटीए १-२ जसलाई हाम्रा नेताहरूले बुद्धि नपुर्याई मोलभाव गरेका हुन् अथवा स्वर्थपूर्तिको निम्ति मात्र थापेका हुन्।

अपरिपक्व राजनीति गर्ने नेताहरूले जब सम्म जनताको आकांक्षालाई लत्याएर स्वर्थपूर्तिको राजनीति गर्छन् तब सम्म गोर्खाहरूको राजनीतिक संकटको हल अाकाशको फल नै हुनेछ ।
त्यसोसले, पहाडको कहिले अन्त नहुने राजनीतिक संकटलाई पूर्ण विराम लगाउनु हो भने गोर्खाहरूलाई एक सच्चरित्र , बुद्धिमानी, दूर्दर्शी, निर्भिक अनि ईमानदार नेता अौ उद्धारकर्ताको खाँचो छ जसले गोर्खा जातिलाई संघर्षबाट अनन्तकालसम्मलाई मुक्ति दिलाउनेछ।


1 Comment on "बिमल गुरूङको आत्मसमर्पण: कति गोर्खा हितमा कति व्यक्तिगत स्वर्थ?"

  1. जुन जोगी आयो कान चिरेको।
    यदि यो चलखेल भित्र चाणक्यको चक्रव्यूह छ भनें अर्को कुरा होइन भने ******ले गुहू खायो।

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.