तर्कमान

Tarkaman: Teesta reflects the Gorkhas

तर्कमान – Tarkaman: आज लगभग पाँच-छ बर्षपछी विशेष अवसरमा केवेन्टियर्स पस्दैछु। म अनि मेरो लङ्गुटिया मित्र प्रकाश लाई भेट्न हामी सितै कलेज पढेको अतिप्रीय मित्र रमेश आउदैछ। दशै-तिहार नजिकिँएकोले दार्जिलिङ शहर भिडभाड छ। केही दिनयता मनसुन सकेर आकाश खुल्ला भैदिएको ले कञ्चनजङ्गा अनि अरु हिमश्रीखलाको मनोरम दृश्य छर्लंग देखिन थालेकोले देशीविदेशी पर्याटकहरु छापछाप छ। भित्र पसेर म टेबलहरुमा नजर घुमाउछु अनि एकपटि कुनाको टेबलमा प्रकाशलाई केही पढिरहेको पाउछु। म लुरुलुरु गएर उसको बिपरितको चौकीमा बस्छु। पढ्न छोडेर प्रकाश मलाई हेर्दै सोध्छन्- “आइपुगिस?”

“खोइ रमेश आइपुगेको छैन?”- टाउको हल्लाउँदै आइपुगेको इशारा गर्दै मैले सोधेँ।

“अह! आइपुगेको छैन। मोराले इङलिस नागरिकता पाए पनि समय चै नेपालकै चलाउदैछ क्यारे!”- प्रकाशले मजाकिया मुडमा उत्तर दिन्छ।
प्रकाश र म एउटै ठाउँको। रङ्गली थाना मन्तिर नामरिङ्ग कमान हाम्रो ठाउँ। सानोछदा कमानकै मिशन स्कुल देखि लिएर सन्त रोबर्ट देखि उच्चतर माध्यामिक अनि दार्जिलिङ गवर्मेन्ट कलेजबाट स्नातक सम्म हामी संगै पढेको। पढ्नमा अब्बल अनि अदभूत तर्कशक्तिको मालिक प्रकाशलाई स्कुल अनि कलेजमा “तर्कमान” भन्ने गर्थे। हुनपनि प्रकाशले हिस्सा लिएको दल तर्कप्रतियोगितामा कहिले पनि दोश्रो भएनन्। आफ्नो जाती-संस्कृतिको लागि मरिमेट्ने प्रकाश समाजका उच्च कोटिको बिचारक अनि उत्प्रेरक हुन्। उसको साखा-सन्तान दार्जिलिङका सबैभन्दा पुरानो परिवारहरु मध्ये एक हुन्। प्रकाशका हजुरबुबा सुर्यमान घले अनुसार वहाँको बाजे-जिजुबाहरु नेपालले सन् १७८९ सालमा दार्जिलिङ-सिक्किममाथि चडाइ गर्ने गोर्खा फौजका सदश्य थिए जुन हमला पृथ्वीनारायण शाहका नाति रणबहादुर शाहको रेखदेखमा भएको थियो। दार्जिलिङ कब्जा गरेपछि नेपाल नफर्किएर घुमको “ओल्ड गोर्खा स्टेशन” छेत्रमा गाउँ बसालेका थिएछन्।

वेटरलाई अर्डर दिएर म वार्तालापलाई अघि बढाउदै उसलाई सोध्छु- “हैन प्रकाश! त आजकल दुर्लभ भाको हो? पत्र-पत्रीका र सामाजिक संजालमा पनि दुई-चार महिना भो तेरो कुनैपनि जातिवादी लेखहरु देखेको छुइन नि?”

SEE ALSO:  Assam NRC - CM Sonowal Assures Darjeeling MP Led Delegation on Gorkhas

“अस्ति एकजना सरकारी अधिकारी कलेजमानै आएका थिए मलाई भेट्न। मेरो लेखहरुमा सरकार र त्यससँग जडित तन्त्र विरुद्ध नकारात्मक टीका-टिप्पणी धेर हुन्छ रे। नावन्न बाटै मेरो क्रियाकलापमाथी नजर राख्ने आदेश जारी भा’को रे। लेख्न बन्द नगरे दुर्गम नक्सली क्षेत्रमा सरुवा गरिदिने धम्की दिएर गएको छ।”- मलाई हेर्दै बोल्यो प्रकाश। “अब दुई-चार दिन मन्द बस्नु पर्यो। नत्र मोराहरुले ‘अर्बन नक्सलिस्ट’को ट्याग दिएर झुटो एन्काउनटर गर्दियो भने त सकिगो नि!”- व्यंग्यात्मक मुस्कानको साथ उसले थप्यो।

गाउँ एउटै भएपनि हाम्रो भेट कमै हुन्छ आजकल। पढिसकेपछी म गाउँकै जिम्लाङ्ग उदय उच्चतर बिध्यालयमा शिक्षकको नौकरी गर्दैछु। प्रकाश लागे जेएनयु तिर अनि नेटको परिक्षा उतिर्ण गरेपछि दार्जिलिङ सरकारी कलेजको प्रोफेसर नियुक्त भएको छ। बल्ल रमेश पनि आइपुगे। भुटानमा जन्मिएको रमेश पहिला हामीलाई भेट्दा भुटानबाट खेदिएको शरणार्थी थियो। नेपालमा शरणार्थी शिविरमा बस्दादेखी दार्जिलिङ पढेका हुन्। पछिबाट सयुक्त राष्ट्र संघको शरणार्थी सेवा अन्तर्गत ब्रीटेनको नागरिकता पाएका छन्।

“तल टिस्टामा एउटा सिक्किमबाट आउदै गरेको पर्यटक बोकेको गाडी झरेछ। हाइडल प्रोजेक्टले ड्याम बन्द गरेर पानी बढेकोले गाडी नै हराएछ। मान्छेहरु बाटै जाम गरेर खोजिदलको कार्य हेर्दै रै’छन्, यसैले ढिलो भो।”- अभिवादन को आदानप्रदान संगै बोल्यो रमेश।

“हो नि यो विद्युतीय प्रोजेक्ट हरुले डरलाग्दो खती गर्दैछन्। अरु त के कुरा, टिस्टा-रङ्गीतको पवित्र सगम स्थल त्रिबेनी पनि हेरिनसक्नु भएको छ आजकल।”-मैले थपे।

“हिज-आज टिस्टा-रङ्गीतलाई विभिन्न कलकारखाना, अस्पताल अनि होटल आदिले बारम्बार बिषालु र दर्दनाक सुइँहरु घोप्ने गरेको छ अचेत बनाउनलाई। त्यसपछि हरेक हाइडल प्रोजेक्टले बलात्कार गर्नेगरेको छ बारबार। दिनहुँजसो उसलाई नाजायज गर्भ बोकाइन्छ अनि गर्भपात गराइन्छ पराय देशहरूले लुट्न अघि।”- भवुक बन्दै बोल्यो तर्कमान उर्फ प्रकाश अनि हामी दुई चै अलमल्ल पर्छौ। कुरा अर्कैतर्फ घुमाउनलाई म रमेशलाई प्रश्न गर्छु- “कति लामो बस्नेगरी आ’को रमेश?”

SEE ALSO:  Rampant Mining at Torsa River - Disaster Awaits Dooars

“दुइ-चार दिन बस्न पर्यो भनेर आएको तर खोइ पर्सिदेखि पहाडमा श्रमिक सगठनको हडताल भन्छ(?), अब भोलि नै नेपाल छिर्नु पर्ला।”- रमेश हतास हुँदै बोल्छ।

हामी दुईजनालाई नजर घुमाउदै फेरि शुरु हुन्छ हाम्रो तर्कमान सा’ब -“हडताल? यो टुंगो-बुङ्गो केही नभएको हडताल र आन्दोलनले पहाडलाई गरिब बनायो। यहाँ मुद्दाको नाममा नेताहरुले निमुखा जनता-जनार्दनलाई भड्खालोमा जाकेको छ। नेपाली भाषाको संविधान मा मान्यता प्राप्तिको निम्ति गरिएको आन्दोलन बाहेक आजसम्म हाम्रो कुनै आरु मुद्दा पार लागेको छैन। जबसम्म समाजलाई राजैतिक पार्दर्शिताको पाठ पढाएर सम्पुर्ण भारतिय गोर्खाहरुबिच एकता र प्रेममय वातावरण सृजना गर्नसक्ने एक दुरदर्शि गोर्खे सपुतको जन्म हुदैन तबसम्म हाम्रो कुनै मुद्दा पार लाग्दैन।”

आजकलको हाम्रो झोलेछाप नेता-कार्यकर्ताहरुको दिनरातको आफ्नैहरु बीच भैइरहेको झगडाले वाक्क-दिक्क भएको मलाई प्रकाशको कुरा साच्चै घतमा लाग्यो। “खोइ(?) हामी डेढ कडोर भारतीय गोर्खाहरुको पहिचान, अस्मिता र सम्मान -छुट्टै राज्य ‘गोर्खाल्याण्ड’ प्राप्तिको आन्दोलन पनि कहिले सफल हुँदैन क्या’हो?”- छड्के नजरले हेर्दै प्रकाशलाई सोधेँ।

“गोर्खाल्याण्ड अहिलेघडी नेपाल र सिक्किमको नाजायज सन्तान जस्तो हो जसलाई बङ्गालले निर्धक्क लुट्दैछन्। इतिहासको हरेक पृष्ठभुमिमा पहाडकी रानीको अवहेलना र अपमान गरिएको छ। जुन दिन यी दुई अभिभावक सदस्यहरुले आफ्नो जायज अंग मान्दै ठोस कदम उठाउछन्- तब हामीले अवश्य न्याय पाउनेछौ अनि गोर्खाल्याण्ड बनेको हुनेछ।”- नौलो कोणबाट स्पस्टिकरण दिए प्रकाशले। नबुझे पनि बुझेझै गरि टाउको हल्लाए मैले।

***———-***

[Writes: सिसिल तामाङ, सिन्जी]

Tarkaman – Teesta pani suki sakyo, Gorkha pani jhuki sakyo


Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.